रेडियो   टिभी

चैत्र ७ बाटै साप्ताहिक हाट बजार कडाइका साथ बन्द हुन्छन्ः नगर प्रमुख थारु


मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकाले चैत्र ७ गते देखि नै हाट बजार बन्द गर्न कडा निर्देशन दिएको छ । कोभिड १९ (कोरोना) को जोखिम बढ्न सक्ने भएकाले नगरको निर्णयलाई कडाइका साथ पालना गर्न नगरले पुनः अनुरोध गरेको हो । भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढिरहेकाले समयमै सचेतता नअपनाएमा यसले प्रभाव पार्न सक्ने भन्दै नगर भित्र संचालन हुने हाट बजार तुरुन्त बन्द गर्न र भीँडभाड नगर्न नगर प्रमुख मंगल प्रसाद थारुले मायादेवी अनलाइन मार्फत् पुनः आग्रह गर्नुभएको हो ।

अब नगरका गजेहडा, पिपरा, वैरिया, बुङ्ची, मोतिपुर, ओदारी, जिनवा, भलवाड, कोपवा लगायतका स्थानमा लाग्ने साप्ताहिक हाट बजार अर्को सूचना जारी नहुँदासम्म संचालन नगर्न थारुले आग्रह गर्नुभयो । नगरको निर्णय कार्यान्वयनमा आलटाल गर्नेमाथि नगरपालिका कडा हुने पनि थारुले बताउनु भयो । विशेषतह स्थानीय हाट बजारमा धेरै भीँडभाड हुने र त्यहाँबाट कोरोना फैलन सक्ने भएकाले निर्णय इमानदारितापूर्वक कार्यान्वयन गर्न उद्योगी ब्यवसायीलाई नगरको आग्रह छ ।

मानवीय संवेदनाको यस विषम परिस्थितिमा कोही कतैबाट कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई आतंकित बनाउने र कालो बजारी गरेको पाइए तत् ब्यक्ति र संस्थालाई पनि कडा कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस