८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिद्धार्थ क्याम्पसलाई प्रदेशकै नमुना र उत्कृष्ट क्याम्पस बनाउन जोड



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नपा १ बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसलाई प्रदेश ५ कै नमुना क्याम्पस बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण अर्थात् क्युएए प्रकृयामा रहेको सिद्धार्थ क्याम्पसले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले अब यसलाई प्रदेशकै नमुना र उत्कृष्ट क्याम्पस बनाउन जोड दिइएको हो ।
क्याम्पसले अहिलेसम्म गरेका गतिविधि र भावी योजनाको लागि आइतबार आयोजित सुझाव र पृष्ठपोषण संकलन कार्यक्रममा सहभागी वक्ताहरुले क्यूएए प्राप्ती क्याम्पसको लागि ऐतिहासिक उपलब्धि हुने बताउँदै अग्रिम शुभकामना दिएका छन् ।
क्याम्पस संचालक समिति उपाध्यक्ष रवि बहादुर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम भट्टराईले सिद्धार्थ क्याम्पसलाई प्रदेशकै एक नम्बर बनाउनु पर्ने बताउनु भयो । उहाँले नयाँ नयाँ विषय थपेर शैक्षिक गतिविधि गर्न सुझाउनु भयो ।
निवर्तमान क्याम्पस प्रमुख बालाराम ज्ञवालीले क्याम्पस ऐतिहासिक सफलताको मोडमा रहेको बताउनु भएको छ । क्याम्पस प्रमुख खेमराज शर्माले क्याम्पसले छिटै क्यूएए पाउने बताउनु भयो । फागुन महिना मै क्यूएए आउने भनिए पनि विश्व विद्यालय अनुदान आयोगले केही सुझाव दिएकाले ती कुराहरु पुरा गरेपछि क्याम्पसले क्युएए पाउने बताउनु भयो ।
क्याम्पसका प्राध्यापक रोमाकान्त घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका संचारकर्मी, शिक्षाप्रेमी, संघ संस्थाका प्रमुखले सुझाव सल्लाहा दिँदै क्याम्पसको प्रगतिको कामना गर्दै सिटिइभिटी, पत्रकारिता, कृषि, कानुन लगायतका नयाँ नयाँ कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  ६ : ३५ बजे