७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द गर्ने कपिलवस्तु उद्योग बाणिज्य संघको निर्णय



मायादेवी अनलाइन, कपिलवस्तु ।
कोरोना भाइरसले विश्व महामारीको रुप लिइरहेको बेला उद्योग बाणिज्य संघ कपिलवस्तुको आकस्मिक वैठक बसेको छ । संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षतामा बाणगंगामा बसको वैठकले कोरोनाबाट जोगिनको लागि बिभिन्न निर्णय गरेको हो ।

मुलुक एक प्रकारले मिनी लक डाउनको अवस्थामा रहेकाले सानो लापरबाहीले पनि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै अति आवश्यकीय वस्तुहरुबाहेक अन्य उद्योगधन्दा, ब्यापार ब्यावसाय बन्द गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

अब चैत्र १० गते मध्यरातिदेखि चैत्र २१ गतेसम्म अत्यावश्यकीय सेवाहरु जस्तै दैनिक खाद्य सामग्रीसहितका किराना, ग्याँस, पेट्रोलियम पदार्थ, फलफुल, दूध बाहेकका अन्य सबै सेवा बन्द हुने छन् ।


संघको यो निर्णयपछि कलकारखाना, हार्डवेयर, सुनचाँदी, बिभिन्न फेन्सी, ग्रील काष्ठ फर्निचर, क्रेसर, मोबायल टिभी, होटल, बिभिन्न इन्ष्च्यिुट तथा ट्यूसन कक्षाहरु संचालन हुने स्थान, गाडी तथा मोटरसाइकल वर्कसप, बिभिन्न ब्यावसायिक फर्महरु, फुटवेयर लगायतका सेवाहरु अब २१ गतेसम्म खुल्न पाउने छैनन् ।

संघको यो निर्णय कार्यान्वयन नगर्ने, विश्वको यस विषम परिस्थितिको मौका छोपी कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गरिने संघले जनाएको छ । संघले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक उपभोग्य कुनै पनि चिजहरुमा अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएको छ ।


यसैगरी वैठकले सबैलाई घरमै सुरक्षित रहन पनि अनुरोध गरेको छ । कोरानाबाट जोगिने उत्तम उपाय भनेको घरमै वस्नु रहेकाले अति आवश्यक काम बाहेक घर बाहिर नजान, भीँडभाड नगर्न, २० । २५ जनाभन्दा बढी कहीँ पनि भीँडभाड नगर्न, पटकपटक साबुन पानीले हात धुन पनि संघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  १२ : ०५ बजे