रेडियो   टिभी

बुद्धभूमिले थाल्यो गरिब मजदुरको लगत संकलन, ‘लकडाउन’ लम्बिए राहत दिन्छौंः मेयर श्रेष्ठ


मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका गरिब, विपन्न र मजदुर बर्गको लगत संकलन थालेको छ । केन्द्र सरकारले नोवेल कोरोना भाइरस विरुद्ध लड्नका लागि मुलुकलाई ‘लकडाउन’ गरेका बेला मजदुर वर्ग मर्कामा पर्न सक्ने अवस्थालाई मध्यनगर गर्दै बुद्धभूमि नगरपालिकाले लगत संकलन थालेको हो ।
एक हप्ताका लागि भनेर मुलुकलाई ‘लकडाउन’ गरिए पनि कोरोना भाइरसको फैलावट तीव्र रुपमा फैलिरहेको बेला लम्बिन सक्ने अवस्था छ । एक हप्ताभन्दा बढी ‘लकडाउन’ लम्बियो भने दैनिक ज्यालादारी गरी खाने मजदुर समस्यामा पर्ने भएकाले नगरपालिकाले प्रारम्भिक चरणमा लगत संकलनको काम थालेको नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
केही दिनभित्र नगर क्षेत्र भित्र मजुदर वर्गको लगत संकलन गर्ने र ‘लकडाउन’को अवस्था हेरेर राहत वितरणको लक्ष्य लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । लगत संकलनका लागि सम्बन्धित वडाका जनप्रतिनिधिलाई निर्देशन दिईसकेको उहाँले बताउनुभयो । ‘अहिलेको विपत्ति राष्ट्रिय हो । समाजमा सबै हुने खाने छैनन । साँझ र विहान मजदुरा गरी खाने वर्ग यसबाट निकै प्रभावित हुने आँकलन छ, त्यसैको मध्यनजर गरी नगरभित्र लगत संकलन थालेका हौं, नगर प्रमुख श्रेष्ठले भन्नुभयो’, “स्थानीय सरकार गरिब, मजदुर वर्गको पक्षमै छ ।”
सरकारले गरेको ‘लकडाउन’मा सबैभन्दा बढी ज्यालादारी गरी पेट पाल्ने मजदुर परेका छन् । कोरोना भाइरसले ‘लकडाउन’ गर्नुपर्ने गम्भिर अवस्था आएपनि मजदुर वर्गको संरक्षण गर्ने अधिकार सरकारकै हो । छिमेकी देश भारत सरकारले पनि मजदुर वर्गका लागि अरवौंको राहत घोषणा गरिसकेको छ । तर, केन्द्र सरकारबाट रातहको घोषणा नभए पनि स्थानीय सरकारका रुपमा रहेको बुद्धभूमि नगरपालिकाले ‘लकडाउन’को अवस्था हरेर राहत घोषणाको गृहकार्य थालेको हो ।
१० वडा रहेको बुद्धभूमि नगरपालिकाले कोरोना भाइरस विरुद्धको अभियानमा नगरस्तरबाट विभिन्न प्रयास थालेको छ । कोरोनाबारे सचेतना स्वरुपमा गाउँ गाउँमा माइकिङ गरी सन्देश प्रवाह गरिरहेको बुद्धभूमिले ‘लकडाउन’का बेला घरमै बस्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस