७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

क्वारेनटाइनले नपुगे थप्छौंः अध्यक्ष थापा



घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सञ्चालन गरेको १६ बेडसहितको क्वारेनटाइनले नपुगेमा आवश्यकता अनुसार थप क्वारेन्टाइनको व्यवस्थापन तयारी हालतमा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहदुर थापाले बताउनु भएको छ ।
गाउँपालिकाको वडा नं. १ रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौली, वडा नं. ६ मा हरिबोध आधारभूत विद्यालय प्रेमनगर र वडा नं. ७ मा लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको थापाले बताउनु भएको हो ।
अहिले विश्वभर महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रण गर्न तीव्र रुपमा सचेतनाका कदमलाई जोड दिएको बताउनुभयो ।
‘लकडाउन’ के हो ? किन यसो गर्नु परेको हो ? लगायत विषयमा सर्वसाधरणमा जानकारीका लागि जनचेतनामुलक प्रचारप्रसार र माइकिङ्ग गर्नुको साथै सम्बन्धित वडाभित्र सञ्चालित बृद्धा आश्रम, बालगृह, धर्मशाला, मन्दिर, बौद्ध विहार, मस्जिद जस्ता स्थानमा सामुहिक आवास, भेला पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिका बाहिराबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरी शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बताउँदै उपभोगका सामग्री किनमेल र बेचविखनका लागि सामग्री खरिद गर्ने व्यक्तिहरुलाई १ मिटरको दुरी कायम हुने गरी भीडभाड नगरी पालैपालो लाइनमा बसी किन्ने व्यवस्था सम्बन्धित पसलहरुले गर्नुपर्ने र अन्यथा पसलहरु खोल्न रोक लगाउने उहाँले बताउनुभयो ।
उहाँले अति विपन्न परिवारलाई चामल, दाल, तेल, नुन लगायत राहत सामग्री वितरण गर्ने भएको बताउनु भयो । सरसफाईका लागि जनचेतना जगाउने तथा सावुन, मास्क, सेनिटाइजर लगायत सामग्रीहरु उपलब्ध भएसम्म प्रत्येक परिवारमा गाउँपालिकाबाट वितरणसमेत गर्ने भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ६ : ०४ बजे