१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुटवल उपमहानगरद्धारा श्रमजीवीको लगत संकलन



बुटवल
बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरिएको छ । सोही संख्याका आधारमा उपमहानगरपालिकाले राहत प्याकेज समेत बनाएको छ । प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ । उनीहरुलाई घरघरमै वा टोलमा उपयुक्त विधिबाट राहत वितरण गरिनेछ । उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । अहिले संकलन भएर आएका संख्यामा छुट भएका भए पुनः सर्वेक्षण गरेर यकिन गर्न पनि दुई दिनको समय दिइएको छ ।
टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले छुट भए नभएको फेरि यकिन गर्नेछन् । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्य्विधि समेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरले राहत सामग्री वितरण कार्यविधि-२०७६ बनाउँदै व्यवस्थित रुपमा राहत वितरणको काम अगाडि बढाएको छ ।
अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन् । जहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् । यद्यपि यो संख्याको वास्तविकता भने फेरि जाँच गरिने भएको छ ।
दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउने गरि कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । सोही आधारमा वडा नम्बर १५ मा वितरणका काम सुरु भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ४९ बजे