४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना नियन्त्रणका लागि गाउँमा आवत जावत गर्न रोक



बिष्णु कुमार आले, अर्घाखाँची ।
शीतगंगा–२ झिर्रा गाँउका युवाहरू कोरोना भाईरस नियन्त्रणमा जुटेका छन् । बिश्वभरी फैलिएको कोरोना भाईरसबाट बच्न बाहिरबाट मानिस गाउँमा प्रबेश गर्न र गाउँबाट बाहिर जान रोक लगाईएको छ ।
कोरोनाको सक्रमित बढ्न थालेपछि सरकारले गरेको लकडाउनको अवेज्ञा गर्दै भारत तथा अन्य स्थानबाट युवाहरू घर फर्कने र आवत जावतमा बाक्लो हुन थालेपछि अर्घाखाँची शीतगंगा–२ झिर्राका २८ जना युवाहरूको सक्रियतामा गाउँ जान र गाउँबाट बाहिर जान रोक लगाईएको हो ।
स्थानीय खिम बहादुर क्षेत्रीको नेतृत्वमा खटिएका युवाहरूले रूख ढालेर सडक अवरुद्ध गरी आवत–जावत बन्द गरेका हुन् । पालैपालो गाउँ पस्ने तीन ओटा गौडाहरूमा डिउटी दिने र गाउँमा दिनभरी को कहाँ गयो, के गर्दै छन, लकडाउनको पालना गाउँलेले गरे गरेनन्, अनुशासन बाहिर को को रहे भन्ने कुराको दैनिकी अभिलेख राख्ने गरेको कोरोना रोकथाम समितिमा अगुवाई गर्दै आएका युवा खिम बहादुर क्षेत्रीले बताए ।
दिन र रातीमा रेखदेख गर्ने ७÷७ जना युवाको छुट्टाछुट्टै समुह बनाएर चौकिदार गर्दै आएका छौं, गाउँमा संक्रमित व्यक्तिको घुलमेल नहोस भन्ने उद्धेश्यले गाँउमा आवत–जावतमा रोक लगाईएको युवा खिम बहादुर क्षेत्रीले बताए । सितापुर देखि झिर्रा गाउँ जाने आउने मुख्य सडक, झिर्रा कोडाँडा जाने आउने मुख्य सडक र झिर्रा खस्रका जाने आउँने मुख्य सडकमा रूख ढालेर तथा बाँसको बेरियल बनाएर ७÷७ जना युवाको समुहले चौकिदार गर्दै आएको स्थानीय युवा राजु अधिकारीले बताए ।
गाउँमा प्रबेश गर्न पूर्णरूपमा निषेध गरेका छौं उनले भने गाँउमा बिरामी परे, दैनिक उपभोग्य वस्तु लिन जानुपरे वा अति आवश्यक काम परेर बाहिर जानु परेमा समितिको निर्णयका आधारमा नाम ठेगाना दर्ता गरी जान दिने गरिएको छ ।
गाउँमा कोही अपरिचित मानिस तथा धेरै मानिस प्रबेश गर्न थाले भने उनीहरूलाई फिर्ता पठाउने गरेका छौं । उनीहरूले सडकमा बसेको बेला आँखा छलेर जङ्गलबाट गाउँमा कोही पस्न सक्ने भन्दै त्यसको निगरानी समेत गरिरहेको अर्का युवा बिष्णु बहादुर क्षेत्रीले बताए । उनीहरू बिहान बेलुकाको खाना पालैपालो खाने गर्दछन् । रातको समयमा ७÷७ जनाको युवाहरूको समुहले गाउँमा बाहिरबाट कोहि पनि प्रबेश नगरून् र गाउँबाट बाहिर कोही पनि नजाउन् भन्दै रातभर तीन ओटा गाउँ पस्ने नाकाहरूमा आगो बालेर जागराम बस्ने गरेको क्षेत्रीले बताए ।
२ सय ६६ घरधुरी रहेको गाउँमा अरूबेला आवत जावत निकै बाक्लो हुने गर्दछ । तर कोरोना भाईरस संक्रमित नेपालमा पनि देखिएसगै युवाहरूले गाउँमा आवत जावतमा रोक लगाएपछि अहिले गाउँ जाने र आउनेको संख्या शून्य जस्तै छ ।
विदेशबाट फर्किएकालाई सिधै घर जान दिँदैनौं, स्थानीय खिम बहादुर क्षेत्रीले भने’,–“त्यस्ता व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा बसाल्ने र उनीहरूको स्वास्थ्य परिक्षण गरेपछि बल्ल गाउँमा पस्न दिने गरेका छौं । गाउँमा आउनेलाई कोरोना भाइरसका बारेमा राम्रोसँग सम्झाई बुझाई गरि फिर्ता पठाउने गरिएको छ ।”
गाउँमा जथाभावी मदिरा बेचबिखन गर्न र जुवातास खेल्न पनि नदिईएको उनीहरूले बताएका छन् । गाउँ टोलमा कोरोना प्रबेश गरेमा गाउँनै सखाप हुने भन्दै गाउँका युवाहरूले निगरानीमा जोड दिएको स्थानीय युवा बिष्णु बहादुर क्षेत्रीले बताए ।
गाउँमा सुचना प्रवाह गरेर सचेत पारिएको छ यदि कोही कसैले अटेर गरि लकडाउनको पाना गर्दैन, जथाभावी हिड्नेलाई कानुनको दायरामा ल्याउने युवाहरूको भनाई छ । रातको समयमा नाका नाकामा दुरी कायम गरेर आगो बालेर गित गाँउदै चौकिदार बसेपछि पूर्णरूपमा आवत जावत बन्द भएको छ । गाउँमा अचानक मानिस बिरामी परेमा वा कोरोना भाईरसको लक्षणसँग मिल्दोजुल्दो देखिएमा तुरून्तै प्रशासन सँग समन्वय गरी अस्पताल पठाउने युवाहरूले बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ८ : ३४ बजे