४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगाको ‘दैविक प्रकोप कोष’मा श्रृङ्गीघाट सामुदायिक बनले राख्यो ५ लाख



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको ‘दैविक प्रकोप कोष’मा श्रीङ्गीघाट सामुदायिक बनले ५ लाख राखेको छ । कोरोना भाइरसले पारेको संकटबाट प्रभावित गरिब, मजदुर तथा श्रमिक वर्गलाई राहत दिनका लागि खडा गरिएको कोषमा श्रङ्गीघाट सामुदायिक बनले उक्त रकम राखेको हो ।
शुक्रबार विहान बनको सचिवालय समिति र १४ ओटै मौजाका संयोजकसंग छलफल गरी नगरपालिकाले खडा गरेको कोषमा ५ लाख दिने निर्णय भएको सामुदायिक बनकी अध्यक्ष रेनु सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यो विपत्तीको बेला गरिब, मजदुर र श्रमिक वर्ग बढी मारमा पर्ने भएकोले केही भएपनि राहत मिलोस भनेर उक्त रकम राहत कोषमा राखिएको अध्यक्ष सेनले बताउनुभयो ।
वाणगंगा नगरपालिकाका वडा नं. १, वडा नं. ४, वडा नं. ३ र वडा नं. ५ का विभिन्न क्षेत्रका उपभोक्ता रहेको श्रङ्गीघाट सामुदायिक बनले नगरपालिकामा ५ लाख दिएसंगै नगरपालिकाले खडा गरेको कोषमा रकम जम्मा हुने क्रम बढी रहेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो जोखिम रोक्नका लागि सरकारले मुलुकलाई ‘लक डाउन’ गरेको छ । यो बेला गरिब, मजदुर तथा श्रमिक बर्ग बढी प्रभावित भएका छन । उनीहरुलाई राहत दिनका लागि नगरपालिकाले कोष खडा गरेको हो । एकद्धार प्रणालीबाट राहत दिदा प्रभावकारी हुनेभएपछि नगरपालिकाले नगर उपप्रमुख चक्रपाणी अर्यालको नेतृत्वमा राहत वितरण समिति गठन गरेको छ ।
अबका केही दिनमा नगरभित्र राहत बाड्ने तयारी भैरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभएको छ । नगरपालिकाले ‘दैविक प्रकोप कोष’ को नाममा चारनम्बरको राष्ट्रिय वाणिज्य बैंकमा खाता खालेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ९ : २६ बजे