२ असार २०८१, शनिबार | Sat Jun 15 2024

स्वाब परीक्षणको दशौं दिनसम्म प्रदेश ५ मा ९४ जनाको नमुना परीक्षण, रिजल्ट के भयो ?



भैरहवा ।
प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेकाहरुको स्वाब परीक्षण शुरु भएको दस दिन पुगेको छ। यस अवधिमा प्रदेश नम्बर ५ मा ९४ नमुना संकलन भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार दिउँसोसम्म प्रदेशका विभिन्न २४ अस्पताल तथा क्वारेन्टाइनले ९४ वटा नमुना परीक्षणका लागि पठाएका हुन् । त्यसमध्ये ८६ वटा नमुनाको परीक्षण भइसकेको छ । परीक्षण भएका सबै नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ८ वटाको रिपोर्ट आउन बाँकी छ ।

बुधबारसम्म नेपालगन्ज मेडिकल कलेजबाट १६, महेन्द्रनगर बहुमुखी क्याम्पस क्वारेन्टाइनबाट १०, गाजा क्वारेन्टाइन नेपालगन्जबाट १० वटा नमुना परीक्षणको लागि आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले बताए ।

यसैगरी कोरोना विशेष अस्पताल बेलझुन्डी दाङबाट ९, कोरोना विशेष अस्पताल बुटवलबाट ६, नेपालगन्ज सीमा क्वारेन्टाइनबाट ५, त्रिभुवन मावि भुरीगाउँ क्वारेन्टाइन बर्दियाबाट ४, रेडक्रस भवन क्वारेन्टाइनबाट ४, प्यूठान अस्पतालबाट ४ जनाको नमुना परीक्षणको लागि आएको छ ।

यसैगरी बर्दिया अस्पतालबाट ३, युसीएमएस भैरहवाबाट ३ र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ३ र लुम्बिनी मेडिकल कलेज पाल्पाबाट ३ जनाको नमुना परीक्षणको लागि आएको छ ।

यसैगरी बबई बहुमुखी क्याम्पस क्वारेन्टाइन बर्दियाबाट २, भेरी अस्पताल बाँकेंको २, भीम अस्पताल भैरहवाबाट २ जनाको नमुना परीक्षणको लागि आएको छ ।

यसैगरी कपिलवस्तु अस्पताल, मिसन अस्पताल पाल्पा, सैनामैना क्वारेन्टाइन रुपन्देही, श्री सेकेन्डरी हाइस्कुल क्वारेन्टाइन नेपालगन्ज, मिल्ट्री अस्पताल क्वारेन्टाइन नेपालगन्जबाट, अमरसहिद बहुमुखी क्याम्पस क्वारेन्टाइन बर्दियाबाट, लुम्बिनी सिटी अस्पताल र रुरु प्राथमिक उपचार केन्द्र गुल्मीबाट एक–एक जनाको नमुना परीक्षणको लागि आएको छ।

अहिलेसम्म संकलित नमुनामध्ये ८६ नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएको सबै नमुनाको परिणाम नेगेटिभ आएको छ ।

डा. गिरीका अनुसार रिजल्ट आउन बाँकीमध्ये कोरोना विशेष अस्पताल बेलझुन्डी दाङबाट आएको नमुनामध्ये ४, प्यूठान अस्पतालको नमुनामध्ये २, लुम्बिनी सिटी अस्पताल र रुरु प्राथमिक उपचार केन्द्र गुल्मीबाट आएको नमुनामध्ये एक–एक गरी कुल ८ नमुनाको परीक्षण बाँकी छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ७ : २८ बजे