८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङको सामुदायिक वनबाट ४ जना सिकारी पक्राउ



दाङ ।
डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट चार जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका ५ को हात्तीखाल सामुदायिक वन क्षेत्रबाट चार जना सिकारीलाई उनीहरुले प्रयोग गरेको चार वटा मोटरसाइकल र एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकार गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तीमा गएको थियो । वन क्षेत्रको ५ ठाउँमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिए पनि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताउनुभयो ।

सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा गएको टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ११ : ५६ बजे