१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा मनोसामाजिक सहयोगको हटलाइन सेवा, मन्त्री बरालले गरे उद्घाटन



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउनको बेला लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्न प्रदेश स्तरमा पहिलो पटक प्रदेश नं. ५ सरकारले निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । विभिन्न हिंसाका कारणले व्यक्तिलाई पर्नसक्ने भावनात्मक असर र जोखिमलाई न्यूनिकरण गर्न मनोसामाजिक सहयोग उपलब्ध गराउने भएको छ ।

सो सेवा एक समारोहबीच शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बरालले हटलाइन नम्बरमा फोन गरेर उद्घाटन गर्नुभएको छ । लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारका सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले टोल फ्रि नम्बर १६६००१०००४७ मा फोन गरी खबर गर्न सक्ने छन् । यो नम्बरमा नेपाल टेलिकमबाट फोन गर्दा कुनै पैसा लाग्दैन । व्यक्तिका सबै जानकारी गोपनीय राखीनेछ । तत्काल हटलाइन सेवा दैनिक १० बजेदेखि ५ सम्म उपलब्ध हुनेछ भने शनिबार बन्द रहने संस्थाले जनाएको छ ।

महिला, बालबालिका तथा युवाको क्षेत्रमा काम गर्दै आएको कपिलवस्तुको सिद्धार्थ सामाजिक विकास केन्द्रले सो सेवा संचालन गरेको छ । संस्थाका निति सल्लाहकार पोमनारायण पौडेलले कुनै पनि घटनाका कारण व्यक्तिलाई पर्ने मनोसामाजिक समस्यालाई सम्वोधन गर्दै परामर्श सेवा साथै आवश्यक संरक्षणका लागि थप काम गरिने जानकारी दिनुभयो । उहाँले ५ नम्बर प्रदेशमा कोभिड १९ बाट प्रभावित महिला बालबालिका तथा स्वास्थ्यको क्षेत्रमा युएनएफपिएको साझेदारीमा संचालित कार्यक्रमबाट सहयोग गर्ने बताउनुभयो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला मान्छे मान्छे बीचको सामाजिक दुरी कायम गर्नुपर्ने परिस्थितीमा लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्न हटलाइन सेवा प्रभावकारी हुने युएनएफपिए प्रदेश कार्यालय बुटवलका प्रमुख राम थापाले बताउनुभयो ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ९ : ३२ बजे