रेडियो   टिभी

वाणगंगामा कोरोनाः सबै नगरबासीको पिसीआर जाँच गर्न सरोकारवालाको माग


चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका कोरोनाको उच्च जोखिममा परेकोले सरोकारवालाहरुबाट नगरबासीको यथासक्य छिटो पिसीआर जाँच गर्नुपर्ने माग उठ्न थालेको छ । कोरोना महामारीको बेला बाणगंगाको अग्रपंतीमा रहेर काम गरिरहेका जनप्रतिनिधि र संचारकर्मीमा समेत संक्रमण देखिएपछि बाणगंगा नगरपालिका कोरोनाको उच्च जोखिममा परेको भन्दै सबैको पिसीआर जाँच गर्नु पर्ने माग उठेको हो ।

बाणगंगा–४ ठाकुरापुरकी ६ बर्षीया बालिकामा संक्रमण सुरु भएकोमा शनिबारसम्म आइपुग्दा १४ जनामा कोरोना पुष्टि भएको छ । जसमा बाणगंगा नगरपालिकाका एक जना वडाध्यक्ष, २ जना पत्रकार परिसकेका छन् । यस्तै घरमै बसिरहेको अवस्थामा बाणगंगा–४ का दुई बालिकामा कोरोना देखिनुले पनि बाणगंगा कोरोनाको उच्च जोखिममा रहेको देखाउँछ ।

अहिले नगरका १, २ र ९ बाहेक ३, ४, ५, ६, ७, ८, १० र ११ वडामा कोरोना देखिएको छ । कुनै वडाका नागरिक भारतबाट आएका भए पनि सिधै क्वारेनटाइनमा गएका कारण त्यति त्रासमा रहनु पर्ने अवस्था छैन् भने कुनै वडाका संक्रमितको अवस्था रहस्यमयी भएकाले नगरमा ठुलो त्रास छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले अब सबै नगरबासीको पिसीआर जाँच गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकार, जनप्रनिधि कोही पनि अछुता रहनुभएन । यो पिसीआर जाँचको रिपोर्ट हो । धेरैको पिसीआर जाँच नै भएको छैन । मलाई लाग्छ यो स्थितिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कोही पनि सुरक्षित हुनुहुन्न ।” उहाँले यथासक्य कीट मगाएर नगरबासीको कोरोना जाँच नभए डरैडरले नगरबासी मर्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश जोशीले बाणगंगामा कोरोनाको संक्रमण नसोचेको गतिले अगाडी बढेको बताउनुभयो । “बाणगंगा सुरक्षित छ भन्दा भन्दै पनि पछिल्ला २ रिपोर्टले तर्साएको छ । अब त लाग्छ, हामी कोही पनि सुरक्षित छैनौँजस्तो । फ्रन्टलाइनमा बसेर काम गर्ने वडाध्यक्ष ज्यू नै संक्रमित हुनुभयो । पत्रकार ज्यूहरु पनि पर्नुभयो । शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, उहाँले भन्नुभयो ।

पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीले नगर कोरोनाको उच्च जोखिममा रहेको पछिल्लो रिपोर्टले प्रमाणित गरेको बताउनुभयो । अहिलेसम्म त सिमित थोरैको मात्र पिसीआर जाँच भएको छ । सबै संचारकर्मीले कोरोना जाँच गराउन पाएका छैनन् । अब नगरका सबै मिडियाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारणको पनि पिसीआर जाँच गराउन आवश्यक देखियो उहाँ थप्नुहुन्छ ।

सि एण्ड सि अस्पतालका संचालक गोपाल घिमिरेले अब कसरी काम गर्ने स्वास्थ्यकर्मीसमेत अलमलमा परेको बताउनु भयो । नगरमा निर्धक्क भएर विरामीको जाँच गर्नु पनि डराउनु पर्ने स्थिति आएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो । विरामीलाई जाँच  नगरौँ भने फेरि नागरिक अन्यायमा पर्दछन् उहाँले भन्नुभयो, ज्यानको माया त हामीलाई पनि लाग्छ । पब्लिक फिगर भनिएका वडाध्यक्ष, संचारकर्मी कोरोनाले संक्रमित हुँदा हामीलाई पनि थप त्रास सिर्जना भएको छ ।

चितवन मेडिकल कलेजमा काम गर्दागर्दै कोरोनाबाट जोगिन बाणगंगा–४ मामाघरमा आउनुभएका बिडिएस डा. प्रदिप घिमिरेले कोरोनाबाट बाणगंगालाई बचाउने हो भने जाँचको विकल्प नभएको बताउनुभयो । ‘म यहाँ बस्न लागेको डेढ महिना भइसक्यो । अस्तिसम्म यहाँ त्यति जोखिम देखेको थिइनँ । अहिले दुईतीन दिनमै स्थिति उल्टो मात्र भएन निकै भयावह गतिमा देख्छु ।’ उहाँले भन्नुभयो, ‘अब नगरपालिकाले पिसीआर जाँच स्पिड गर्नुपर्यो । विकसित देशमा कोरोना नियन्त्रणमा आउनुको मुख्य कारण नै जाँचको दायरा बढ्नु हो । हामीले दक्षिण कोरिया, जापान, आदि देशको उदाहरणलाई लिन सकिन्छ ।’

बाणगंगा ४ झुँगाका शिव शर्माले कम्तिमा पनि नगरका एक घरका एक ब्यक्तिको पिसीआर जाँच गर्नुपर्ने अवस्था देखिएको बताउँनुहुन्छ । आरटिडी जाँच होइन पिसीआर जाँच नै हुनुपर्ने र यसको लागि नगरले तुरुन्त किट खरिद गनुपर्ने शर्माको भनाई छ । उहाँले कोरोना जोखिमको दायरा बढेको बताउँदै जबसम्म नगरबासीको पिसीआर जाँच हुँदैन र रिपोर्ट आउँदैन तबसम्म सबैले मलाई पनि कोरोना छ कि भनेर घरभित्र डराएर बस्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

बाणगंगा–११ की बिन्दु शर्माले काठमाण्डौँबाट सुरक्षाको लागि ओदारी आफ्नो घर आएँ पनि अहिले पछुतो लागेको बताउनुभयो । नगरपालिकाले कोरोनाको लागि गरेको तयारी देख्दा टिठ लागेर आएको उहाँले मायादेवी अनलाइनलाई बताउनुभयो । ‘मेरो छिमेकी संचारकर्मीलाई कोरोना देखिएको छ । थप एक जना संचारकर्मी र एक जना वडाध्यक्ष कोरोनाको संक्रमणमा पर्नुभएछ । अब त झनै जोखिम भयो । उहाँहरुले कसकससंग सम्पर्क गर्नुभयो ? यसो स्थिति हेर्दा खतरापुर्ण लाग्छ । अब नगरबासीको पिसीआर जाँच नगर्ने हो भने अवस्था डरलाग्दो छ ।’

यता बाणगंगा नगरले पनि स्थिति चुनौतिपुर्ण रहेको बताउँछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले आम पब्लिकले भनेको माग जायज रहेको बताउँदै नगरमा पिसीआर जाँच गर्नै पर्ने अवस्था आएको बताउनुभयो । उहाँले स्थिति भयावहतर्फ अगाडी बढेकाले नगरपालिकाको एक्लो प्रयासले केही पनि नहुने भन्दै यसमा प्रदेश र संघीय सरकार तातिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाको जोखिम न्यूनिकरणमा नगरको हैसियत र पहुँचले भ्याएसम्म गर्दछ । त्यो भन्दामाथि हामी केही गर्न सक्दैनौँ । यहाँभन्दा अरु धेरै के भनौँ । स्थिति सबैलाई थाहा छ ।’

नगर प्रवक्ता विष्णु पौडेलले नगरका जनप्रतिनिधि र संचारकर्मी कोरोनाको संक्रमणमा पर्नु सबैको लागि दुखद् भएको भन्दै नगरले धेरै किट खरिद गरेर जाँचको दायरा बढाउनतर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस