४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कृष्णनगर नाकाबाट सात गाडी अलपत्र नागरिकलाई नगर भित्त्रायौंः मेयर अधिकारी (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
अर्घाखाँचीको शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले कृष्णनगर नाकामा अलपत्र सात गाडी नगरबासीलाई उद्धार गरेको बताउनुभएको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेका नगरबासीलाई उद्धार गरेर सम्बन्धित वडाका क्वारेनटाइनमा ल्याएर राखेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम कोरोना विशेष संवादसंग आइतबार कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘भारतबाट आएका सयौं नगरबासी कृष्णनगर नाकामा अलपत्र परेका थिए । शनिबार मात्र उनीहरुको उद्धार गरेका छौं, नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘तीन बस, तीन ट्रक र एक ट्याक्टरको प्रयोग गरी नगर प्रवेश गराएका हौं ।’

नगर प्रवेश गराएका नागरिकलाई सम्बन्धित भुगोलको पायक पर्ने स्थानमा लगेर छाडेको उहाँले जनाउनुभयो । भूगोल ठूलो भएको कारण सबैलाई घरघरमा लैजान नसके पनि सम्बन्धित क्षेत्रमा छाडेको र सम्बन्धित वडाध्यक्षले त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

भारतबाट उद्धार गरिएका नागरिक मध्ये हल्दे, मन्द्रे, सुर्वणखाल लगायतका नागरिकलाई सितापुर, लामाताल, दोबाटा लगायत दाङसंग सिमा जोडिएका क्षेत्रका नागरिकलाई भालुवाङ, सिद्धारा क्षेत्रका नागरिकलाई हर्रे–बर्रे, तल्लो सिमलपानी क्षेत्रका नागरिकलाई विक्रम–पाब्र्रा, जलुके, चिसापानी, ढुङ्ग्रे लगायतका नागरिकलाई शिवादहसम्म लगेर छाडिएको उहाँले जानकारी दिनुभयो ।

प्रयाप्त कोरोना परिक्षणको किट नहुँदा भने सबैको स्वास्थ्य परिक्षणमा ढिलाई भएको उहाँले स्विकार गर्नुभयो । ‘नगरभित्र आरटिडी र पिसीआर परिक्षण गर्ने किट छैन, अहिलेसम्म लगभग ५० जनाको मात्र परिक्षण भएको छ, उहाँले भन्नुभयो, ‘परिक्षण गराएका मध्ये सबैको रिर्पोट नेगेटिभ आएको छ ।’

शीतगंगा नगरपालिकाले भारतका विभिन्न स्थानमा रोजगारीका लागि जानेको संख्या निकालेको पनि बताउनुभयो । भारतका लगभग ७ हजारको हारहारीमा शीतगंगाका नागरिक रहेको र झण्डै तीन हजार नगर प्रवेश गर्ने आकंलन गरिएको उहाँले जनाउनुभयो । त्यसै अनुसार व्यवस्थापनको कार्य अगाडी बढाइएको उहाँको भनाई छ ।

नगर प्रमुख अधिकारीसंगको थप अन्तर्वार्ता सुन्न यहाँ क्लीक गर्नुहोला ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ३८ बजे