४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारको नीति तथा कार्यक्रम किन ‘आउटडेटेट’ खालको आयो ? अचम्ममा छौं : कानोडिया (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेस प्रदेशसभा ५ का संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले प्रदेश सरकारले शनिबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वागतयोग्य खालको नभएको टिप्पणी गर्नुभएको छ । अहिले कोरोनाको असामान्य र जटिल परिस्थितीमा पनि सरकारले आफ्नो नीति तथा कार्यक्रम ‘आउटडेटेट’ खालको ल्याएको भन्दै कानोडियाले टिप्पणी गर्नुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम कोरोना विशेष संवादमा आइतबार विहान कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थिती असामान्य र जटिल खालको छ । यो बेलाको नीति र कार्यक्रम यसै केन्द्रित बनेर आउनुपर्ने थियो, उहाँले अगाडि थप्नुभयो, ‘सरकारले कस्तो प्रकारको नीति तथा कार्यक्रम ल्यायो हामी त अचम्ममा छौं ।’

सरकारले कोरोना केन्द्रित कुनै पनि कार्यक्रम समेट्न नसकेको उहाँले आरोप लगाउनुभयो । कोरोनाले विदेशमा रहेका लाखौं युवा स्वदेश फर्कने अवस्थामा रहेको र तिनीहरु स्वदेश फर्केपछि रोजगारीको वातावरण निर्माण गर्ने खालको कार्यक्रम आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘विदेशिएका लाखौं युवा कोरोनाकै कारण रोजगार गुमाएर स्वदेश फर्कदै छन् । भारतबाट लाखौं युवा आउँदैछन । जहाज चलेपछि खाडी मुलुकबाट पनि लाखौंको संख्यामा युवा आउँदैछन् । उनीहरु नेपाल आए के रोजगारी दिने ? उनीहरुको व्यवस्थापन कसरी गर्ने ? उहाँले भन्नुभयो, ‘अहिलेको नीति र कार्यक्रम यही विषयलाई केन्द्रमा राखेर ल्याउनुपर्ने थियो तर, ल्याइएन ।’

छिमेकी मूलुकले आफ्ना नीति तथा कार्यक्रमलाई कोरोना केन्द्रित गराइसक्दा नेपालमा त्यो अभ्यास नगरेर उहि सडक, पुलपुलेसा बनाउनमा मात्र ध्यान दिनु विडम्वनाको कुरा भएको बताउनुभयो । विकास निर्माणका काम विगत देखिनै भएको र अहिले तत्काल यो विषय प्राथमिकताको क्षेत्र नभएको उहाँको जिकिर थियो । जनता रहे राजनीति गर्ने भएकाले जनता केन्द्रित राहतको क्याकेज ल्याउन उहाँले माग गर्नुभयो ।

‘अहिले सारा शक्ति कोरोना नियन्त्रणमा लगाउनु छ । भारतबाट तत्काल आइरहेका युवालाई व्यवस्थापन गर्नु छ । क्वारेनटाइन अझै व्यवस्थित बनाउन सकेका छैनौं । विदेशमा रोजगारी गुमाएर फर्केकालाई के रोजगारी दिने त्यसमा चिन्ता भएन । नागरिकहरु भोक भोकै मर्ने अवस्था आउँन थालेको छ । यी कुरा नीति तथा कार्यक्रममा आएनन । उहि पुरानै झारा टार्ने खालको आयो, उहाँले भन्नुभयो, ‘सडक त नेपाली कांग्रेस सरकारमा हुँदा नै बनाइसकेको छ ! अहिले यो प्राथमिकताको विषय होइन ।’

कोरोना पछिको अवस्था विकराल हुने भन्दै उहाँले नागरिकको रोजीरोटीको ग्यारेन्टी सरकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशबाट फर्केर आउने युवालाई कृषिमा केन्द्रित गराउने, सामान्य तरकारी र फलफूलमा पनि भारतको निर्भर हुने अवस्थाको अन्त्य गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने, साना साना उद्योगभन्दा खोल्न प्रेरित गराउने खालको नीति तथा कार्यक्रम आउनुपर्नेमा उहाँको जोड छ ।

आफुले पटक पटक मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने काम गरिरहेको उहाँले बताउनुभयो । कांग्रेसले सधै राम्रो कामको समर्थन गरेको र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । कोरोना राजनीति मुद्धा हुनै नसक्ने भन्दै यो मानवता विरुद्धको सत्रुलाई सबै मिलेर पराष्ट पार्नुको विकल्प नरहेको बताउनुभयो । त्यसका लागि सरकारले बजेटमा व्यवस्था गरेर नयाँ नयाँ कार्यक्रम ल्याउन सके मात्र सफलता तिर जान सकिने उहाँले भनाई थियो ।

कानोडियासंगको पुरा अन्तर्वार्ता सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ९ : ३६ बजे