४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाणिनीका अध्यक्ष भन्छनः जेष्ठ २० गतेसम्म मात्र सीमाबाट उद्धार गछौं, पछि सक्दैनौं (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भारतबाट सीमा नाकासम्म आउने सबै गाउँपालिकाबासीलाई उद्धार गरिरहेको बताउनुभएको छ । कोरोना महामारीको बेला भारतबाट आफ्नो घर फर्किएर सीमा नाकासम्म आउने सबैलाई गाउँपालिकाले उद्धार गरेर क्वारेनटाइनमा राखेको अध्यक्ष गौतमले बताउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादमा मंगलबार विहान कुराकानी गर्दै उहाँले भारतका कुनै पनि स्थानमा गाउँपालिकाबासी समस्यामा छन भने जसोतसो सीमा नाकासम्म आउन आग्रह गर्नुभएको छ । सीमा नाका आएर अलपत्र परिने हो कि भन्ने डर नपाल्न आग्रह गर्दै उहाँले त्यहाँबाट जसरी पनि गाउँपालिकाले उद्धार गरेर ल्याउने प्रष्ट पार्नुभयो ।

तर, सीमामा एक्लै आए उद्धार गर्न नसकिने उहाँले प्रष्ट पार्नुभएको छ । दुई चार जना व्यक्तिका लागि दैनिक सीमा नाकासम्म जान नसकिने स्पष्ट पार्दै आउँन चाहनेहरु धेरै हुनुपर्ने बताउनुभयो । गाउँपालिकाले ५ सयको हारहारीमा भारतबाट उद्धार गरेर गाउँपालिकाका क्वारेनटाइनमा राखेको बताउनुभयो । अहिले पनि कृष्णनगर, सुनौली नाकाहरुबाट दैनिक गाउँपालिकाबासीलाई उद्धार गरेर ल्याउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उद्धारको काम जेष्ठ २० गतेसम्म मात्रै हुने उहाँले प्रष्ट पार्नुभएको छ । सधै सीमामा पुगेर नागरिकको उद्धार गर्न नसकिने भन्दै भारतका विभिन्न स्थानमा रहेर अलपत्र परेकाहरुलाई २० गते अगावै सीमासम्म आउन आग्रह गर्नुभएको छ । यो कुरा गाउँपालिकाले गाउँ गाउँ गएर भनेको भन्दै मायादेवीबाट पनि यो कुरा दो¥याएर भन्न चाहेको बताउनुभयो ।

‘सधै उद्धारमा लागेर भएन । भारतमा कोरोनाको महामारी बढिरहेको छ । लकडाउनले रोजगारी गुमेको छ । अहिले भारतले रेल चलाएको छ । यो मौका छोपेर घरमा आउँन चाहने कोहि भए तुरुन्त आउन आग्रह गर्दछु, उहाँले मायादेवीसंग भन्नुभयो, ‘जेष्ठ २० गते उता उद्धार गर्न सक्दैन, प्रष्ट हुनुहोला ।’

गाउँपालिका भित्र दुई जना कोरोना संक्रमित भेटिएको पनि उहाँले जानकारी दिनुभयो । ती संक्रमित हालै भारतबाट आएका भएको उहाँले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप आइसोलेशनका लागि दाङको बेलझुण्डी पठाइएको उहाँले बताउनुभयो । गाउँमा कोरोनाको त्रास अनावश्यक फैलाउने काम भएको भन्दै त्यो बन्द गर्न आग्रह गर्नुभएको छ । कोरोना लाग्दैमा कोहि नमरिने भन्दै सचेत र सावधानि अपनाउनुपर्नेमा जोड दिनुभयो ।


अध्यक्ष गौतमसंगको थप कुराकानी सुन्नका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ११ : ५९ बजे