मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले जिल्लाकै सबै भन्दा बढी दुई सय बेडको आईसोलेशन सेन्टर निर्माण गरेको छ । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढे पछि पालिकाले रामजानकी माविमा दुई सय बेडको सेन्टर निर्माण गरेको हो ।
प्रदेश सदस्य दीर्घनारायण पाण्डेय र मेयर अब्दुल कलाम खाँले सेन्टरकोे संयुक्त उद्घाटन गरे । मंगलवार साँझसम्म १ सय ७० बेड निर्माण गरी सकेको र बाँकी ३० बेड एक दुई दिनमै निर्माण हुने मेयर अब्दुल कलाम खाँले बताए । आइसोलेशन सेन्टर अभावले एक साता अघि पालिकामा भेटिएका ८ जना संक्रमितलाई लबनी लगिएको थियो । त्यस मध्ये ४ जनालाई फिर्ता ल्याएर सेन्टरमा राखिएको कलामले बताए ।
मेयर कलामले आफ्नो पालिकामा जिल्लाको सबै भन्दा बढी क्वारेन्टाइनमा मान्छे रहेको र कोरोना संक्रमित समेत बढी फेला पर्न सक्ने भन्दै सेन्टर निर्माण गरिएको बताए ।
सेन्टरमा बस्ने संक्रमितलाई राम्रो उपचार र व्यवस्थित बसाईका लागि उचित प्रबन्ध गरिएको उनले बताए । महराजगञ्ज प्राथमिक उपचार सेवा केन्द्रसंग समन्वय समेत गरिएको उनले बताए । महराजगञ्जमा ९ जना संक्रमित भेटिएका छन ।
जिल्लामा अब आइसोलेशन सेन्टरको कमी नहुने प्रजिअ दीर्घनारायण पौडेलले बताए । जिल्लाको मायादेवी, शुद्धोधन, बिजयनगर गाउँपालिकामा आइसोलेशन सेन्टर संचालनमा आईसकेको र अन्य पालिकाले समेत एक दुई दिन भित्रै निर्माण गर्ने उनले बताए । जिल्लामा १ सय ९ संक्रमित भेटिएका छन । त्यस मध्ये ११ जना निको भई घर फर्केका छन् ।







प्रतिक्रिया