१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सबै कुकुर काशी गए गु केले खाला !



चन्द्रकान्त न्यौपाने ।
संघीय सरकारले विहीबार अपरान्ह आर्थिक बर्ष २०७७ । ०७८ को बजेट सार्वजनिक गर्‍यो । देशभरका अर्थविद् र अर्थवित्त क्षेत्रका जानकारहरु अहिले त्यही बजेटको विश्लेषणमा छन् । राजधानीका सबै मिडिया अहिले बजेटको विश्लेषण, सबल दुर्वल पक्ष, आचोलना लगायतका विषयमा घोत्लिएर लागेका छन् । यसै सन्दर्भमा प्रदेश ५ मा अलग धारमा कार्यक्रम उत्पादन र समाचार सम्प्रेषणमा लागेको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज र मायादेवी अनलाइन डटकमले प्रदेश केन्द्रित बजेट आयो कि आएन ? संघीय सरकारले प्रदेशका गौरवका योजनालाई पूर्ण गर्न कत्तिको प्राथमिकता दियो ? यस प्रदेशको कृषि, स्वास्थ्य र पर्यटन लगायतमा गरेको बजेट बिनियोजनको दायरामा छलफल गर्न भनेर धेरै ब्यक्तिलाई फोन गर्न खोज्यौँ । मन्त्री नेतादेखि अर्थवृत्तमा जानकार छन् भन्ने लाग्नेहरुलाई धेरैपटक छलफलको लागि कोसिस गर्यौँ । तर विहानी समयमा कसैको फोन उठेन । कत्तिले यस विषयमा बोल्ने र विचार राख्ने हिम्मतसम्म गर्नुभएन । अनि हामी अतिथिको लागि अन्तिममा काठमाडौँतिर नै केन्द्रित भयौँ । उतैबाट हाम्रो बजेट कस्तो आयो भन्नेबारेको विश्लेषण बुझ्न बाध्य भइयो ।

बजेटको विषयमा मात्र होइन कुनै राजनैतीक उतारचढाव, सीमा विवाद, एमसीसी, राष्ट्रियताका अरु पक्ष, सामाजिक अपचलन इत्यादिमा दरोसंग विचार, विवेचना र ब्याख्या गरी ठोस कुरा राख्न सक्ने व्यक्तिको सधै अभाव हुन्छ यहाँ । मुलुकको स्वास्थ्य, शिक्षा, राजनीति लगायतको प्रणाली कस्तो छ ? भन्नेबारे छलफल गरेर ठोस विचार दिनसक्ने जनशक्तिको जहिले पनि अभाव देखियो प्रदेशमा । कुनै पनि कुरामा गहिरो अध्ययन गर्ने र विचार दिन सक्ने कोही पनि सक्षम ब्यक्ति राजधानीमा मात्र भए यतातिर भएनन् । यसो हुनुको पछाडी केही खास कारक छन् ।

सुरुमा मन्त्री र नेताको कुरा गरौँ । प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बाहेक विचार र दर्शन दिनसक्ने ल्याकत भएका कुनै नेता र मन्त्री छैनन् । पदको हिसाबले सफलता र असफलताको तुलोमा राखेर मुख्यमन्त्रीलाई तौलने जिम्मा यहाँलाई नै छाडिदिएँ तर विचारको हिसाबमा मुख्यमन्त्री पोख्रेल मुलुकमै अब्बल मानिन्छन् ।

प्रदेशका १२ जिल्लामा चर्चामा आएका र अलिअलि जनताले मान्ने नेताहरु डेढ दर्जन जति होलान् । मन्त्रीको कुरा गर्नुहुन्छ भने प्रदेश ५ मा मुख्य मन्त्रीसहित ६ जना मन्त्री छन् । सांसद ६० को हाराहारीमा छन् । तर सबैको योग्यता र क्षमता हेर्ने हो भने जनताले विश्वास गर्ने खालको पटक्कै पाइँदैन ।

मन्त्री पद धारण गरेका सांसदहरुले पनि सम्बन्धित मन्त्रालयबाट हुनुपर्ने जति काम नगर्दा प्रदेशबासी नै निरासामा छन् । ती सबै सांसद र मन्त्री पार्टीको एक गुट र एक नेतालाई खुसी बनाउने राजनैतिक खेलोमेलोमा लागेको पाइन्छ । मन्त्री बनेकाहरु गुटको खेलमा लागेर बनेको पाइन्छ, क्षमताले होइन । उनीहरु पत्रिका, किताब, साहित्य, दर्शन पढ्न रुचाउन्नन् । मैले धेरै सांसद र मन्त्रीको चाल चलन नजिकबाट बुझ्दा बलै छिटोछिटो हेडलाई त पढ्छन् तर पत्रिकाका विचार पढ्दैनन् । अध्ययन भनेपछि दिउँसै निदाउँछन् ।

राजनैतिक दलका नेता र कार्यकर्ता छन् त भेँडाबाख्राजस्ता ! नेताहरु हेर्नुहुन्छ भने अधिकांश सरकारी जागीरे भएर पेन्सन चुस्ने भएपछि राजनीतिलाई अपनाएको पाइन्छ । उनीहरुमा न त राजनैतिक ज्ञान नै देखिन्छ, न त राजनैतिक कौशल । उनीहरु केवल मन्त्री र उच्च तहका नेताहरुको चाकडी, चाप्लुसी र स्वस्ति गर्दछन् ।

अब कार्यकर्ताको कुरा गरौँ । नेताहरुभन्दा खराब छन् कार्यकर्ताहरु । उनीहरु पहुँच मिलेसम्म मन्त्रीसम्मको चाकडी गर्दछन्, नमिले स्थानीय र प्रदेशसम्म पहुँच भएका, त्यो पनि भएन भने एनजिओ, आइएनजिओ, बिभिन्न संस्थामा रहेकाहरु जसबाट केही फाइदा लिन सकिन्छ त्यसको चाकडीमा रहेको देखिन्छ । अचेत र असक्षम कार्यकर्ताको हुल र जमात छ । कमिलाको ताँतीजस्तो ताँती लागेर नेताको पछिपछि दगुर्छन् ।

उनीहरुले गर्ने चाकडीको दायरा निकै फराकिलो र ओजपूर्ण छ । विशाल छ । कार्यकर्ताहरु चाकडी गर्दा आफ्नो योग्यता, कद र सामाजिक भूमिका भुसुक्कै विर्सेर नेताको पछिपछि लाग्ने, बडि गार्ड बन्ने, गाडीको सिसा पखालि दिने, फोन उठाइदिने, चस्मामा लागेको धुलो सफा गरिदिने, अलि टाढा छन्, भने घिउ, दाल, चामल, सागसब्जी लगि दिने, फलफुल छन् भने फलफुल लगिदिने । घरमा जेजे छ सबै लगिदिने इत्यादि ।

धेरै कार्यकर्ताहरु यस्तै कार्यमा लागेर आफ्नो जीवन बर्बाद गरेको पाइन्छ । केही भने माथि नै पुगेका पनि छन् । नेताको यही चाकडीमा लागेर उनीहरु पढ्न छोड्छन् । फेल हुन्छन् । परिवार बिर्सन्छन् । कुनै बिषयमा तर्क गरौँ भन्दा कुनै कार्यकर्तामा तर्क गर्ने ल्याकत देखिन्न । आफै लागेको पार्टीको सिद्धान्त के हो ? भन्ने पनि विचराहरुलाई थाहा भएको पाइन्न । चुनावमा नेता र मन्त्रीले उनीहरुलाई मर्ने र मार्ने खेल खेलाउँछन् । विचरा त्यो पनि पत्तै पाउँदैनन् र लड्छन्, घाइते हुन्छन् । मर्छन पनि । कुनैकुनै कार्यकर्ता आफ्नो बौद्धिकता चल्तीमा आएको सामाजिक संजाल र फेसबुकमा उतार्छन् । त्यो पनि नेता, मन्त्री र सांसदको भजन गाएर । अरु के गरुन् विचराहरु । जीवन त बचाउनै पर्यो । कुनै कार्यकर्ता विचार प्रधान देखिन्नन् । चाकडीबाजमा रमाउन त कपिलवस्तु र रुपन्देहीका नेता र कार्यकर्ता मुलुकमा अब्बल नै होलान् भन्ने प्रतीत हुन्छ ।

पत्रकारको चाकडी कला पनि अनौठो खालको छ । राज्यले पत्रकारितालाई राज्यको चौथो अंग माने पनि त्यो गुणलाई पत्रकार र मिडिया हाउसहरुले लतक्कै लत्याएको पाइन्छ । मुलुकका सिमित पत्रकार र मिडिया हाउसबाहेक लगभग सबै पत्रकार कुनै पार्टी वकपत्रजस्ता देखिन्छन् । समाजमा फलानो मिडिया यो पार्टीको, फलानो मिडिया त्यो पार्टीको, फलानो पत्रकार यो नेताको, ढिस्कानो पत्रकार त्यो नेताको भनेर भाग नै लगाएको देखिन्छ । एक श्रमजीवि पत्रकार भएको नाताले पत्रकारकै विषयमा केरकार गर्नुपर्दा वडो दुःख लागेको छ । मोफसलका अधिकांश पत्रकारमा पत्रकारिताको योग्यता नै छैन । अर्थात् उनीहरुले पत्रकारिता विषय पढेका छैनन् । उनीहरु पत्रकारिताको नाममा पार्टीकारिता गरेर बिभिन्न नियुक्ति खाने ध्याउन्नमा छन् । कतिले त खाइसकेका पनि छन् । कति त्यो लाइन कुरी बसेका देखिन्छन् ।

मोफसलमा पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुमा यो अभाव देखिन्छ । पत्रकारहरु पनि राष्ट्रको चौथो अंगको मर्यादा विर्सेर तिनै नेता र मन्त्रीको चाकडीमा ब्यस्त देखिन्छन् । मिडियाका संचालक । प्रमुख नै पार्टीका बिभिन्न आलिसान पदमा आसिन छन् । पार्टीको मुख पत्र र संस्थाको छाप झोलामा बोकेर पहुँचको आडमा बिभिन्न संघ संस्था, वन, स्थानीय तहहरु, उद्योगधन्दा र ब्यावसायलाई धम्काउने र थर्काउने गर्दछन् । मोटो रकममा विज्ञापन पाए, खराब भए पनि समाचार लुकाइन्छ । नपाए खैरो खनिन्छ । यो पत्रकारितामा केन्द्रदेखि स्थानीय स्तरसम्म भएको खराब चरित्र हो । पत्रकार रक्सी, वियर, भत्ता आदिमा बार्गेनिङ गरेर समाचार लेख्छन् । यो अर्को खराब चरित्र हो पत्रकारको । जुन गर्नु हुँदैनथ्यो । अहिले त जो पनि पत्रकार । जो पनि कार्यक्रम संचालक । कुनै स्थानमा मेला लाग्यो भने, कुनै भत्ते कार्यक्रम भयो भने अतिथिभन्दा पत्रकारको संख्या धेरै देखिनुले यो प्रमाणित हुन्छ । जनता पनि अन्योलमा को पत्रकार ? को के ?

चाकडी नामको नाचगान गर्ने रंगमञ्चहरु खडा गरेर बरा ! पत्रकारहरु पत्रकारिताको धर्म नै बिर्सन्छन् । यहाँका पत्रकारमा (सिमितबाहेक) पत्रकारीताका गुणहरु छैनन् भने कुनै दर्शन, राजनैतिक चेत, ब्याख्या विश्लेषण आदि गर्ने क्षमता नै देखिन्न । टिभीमा टेलिभिजन गुण भएको, रेडियोमा रेडियो गुण भएको, पत्रिकामा पत्रिकाको गुण भएको र अनलाइनमा अनलाइन गुण नभएका पत्रकारको जमात मस्तै छ । नहोस् पनि कसरी त्यहाँ राजनैतिक नियुक्ति छ । नेपाल भारत सीमा विवादमा भारतीय मिडियाले एकजुट भएर कति धेरै विचार छरे । राष्ट्रियताको विषयमा कति खरो भएर उत्रिए ? हामी आफै हेरौँ त सीमा विवादमा देशभरका मिडियाले आफै खोज गरेर के दिन सक्यौँ ? यति धेरै मिडिया भएको देशका पत्रकारमा खोई सीमा लगायत राष्ट्रियताको विषयमा ज्ञान ? खोई हाम्रो एकता ? यो चाकडीबाजको गाँज शिक्षक, कलाकार र ब्यावसायीसम्म गाँजिएर बसेको छ । यिनीहरुको चाकडी पत्रकार र कार्यकर्ताकोभन्दा कम छैन । यिनीहरु पनि अध्ययनशिल छैनन् । यो देशभरको समस्या हो । सबै पार्टीभित्रको समस्या हो ।

अन्तत्वगत्वाः अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नु भएको बजेट भाषणको कोणबाट जन्मिएको यो लेखको आसय बुझ्नु भएको होला । मन्त्री मन्त्रीजस्तो, सांसद सांसद जस्तो, नेता नेताजस्तो, कार्यकर्ता कार्यकर्ताजस्तो, बुद्धिजिवी बुद्धिजिवीजस्तो, लेखक लेखकजस्तो र पत्रकार पत्रकारजस्तो भए मात्र प्रदेशको सर्वाङ्गिण विकास हुन्छ । नेता, मन्त्री, पत्रकार, कार्यकर्ता, लेखक, बुद्धिजिवी, वकिल,उद्योगी, धर्मगुरु सबैले समसामयिक विषयमा विचार दिन, धरणा राख्न, ब्याख्या गर्न, विवेचना गर्न, संश्लेषण, विश्लेषण गर्न सक्ने हुनुपर्दछ । सम्बन्धित विषयको ज्ञान हुनुपर्दछ । जनताले पत्याउने खालको छवी निर्माण गर्न सक्नु पर्दछ ।

आफै कल्पना गर्नुहोस् त सूर्यले प्रकाश दिन छोड्यो, चन्द्रमाले शितलता दिन छोड्योे, पानीले आफ्नो वहाव रोक्योे, रुखले प्राण वायु दिने कर्तव्य छोड्यो भने विश्वको स्थिति के होला ? यदि हामीले पनि हाम्रो धर्म र कर्तव्य छोड्यौँ भने विचरा निमुखा जनताले के पाउलान् ? कहिले देशको विकास होला ? हामीले हाम्रो कर्तव्य छोड्यौँ भने ‘सबै कुकुर काशी गए गु केले खाला ! भनेजस्तो होला नि । त्यसैले सबै अध्ययनशिल बनौँ । योग्यता बटुलौँ । दर्शन पढौँ । वैचरिक बनौँ । चाकडीतन्त्रबाट नेतामन्त्री, कार्यकर्ता, पत्रकार, बुद्धिजिवी, धर्मगुरु सबै टाढा होऔँ । तेरो मेरो छोडी सबै एकजुट भएर कोरोनाविरुद्धको लडाइमा लागौँ । राष्ट्रनिर्माणमा जुटौँ ।

यो मेरो नितात्न नीजि विचार हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : १५ बजे