मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउन (बन्दाबन्दी) लाई झनै खुकुलो बनाउन थालिएको छ ।
गत शुक्रबारदेखि बैंक तथा वित्तिय संस्था खुल्ला राख्ने निर्णय भएको जिल्लामा अत्यावश्यकीय खाद्यान्न पसल विहान दुई घण्टा सञ्चालन गर्न दिइएको थियो । जेष्ठ २० गते मंगलबारसम्म दिइएको यो अनूमतिलाई निरन्तरता दिदैँ लकडाउन खुकुलो बनाउने थप नीति लिन थालिएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मंगलबार बस्ने सुरक्षा समितिको बैठकले लकडाउनलाई अहिलेको अवस्थालाई निरन्तरता दिने सम्भावना रहेको बताउनुभयो । मायादेवी अनलाइनसंगको कुराकानीमा उहाँले भन्नुभयो, ‘लकडाउन अहिलेकै अवस्थामा रहने सम्भावना छ ।’
साथै उहाँले विकास निर्माणका कामलाई पनि निरन्तरता दिने गरी निर्णय हुन सक्ने सम्भावना रहेको औल्याउनुभयो । बर्खा लागेको कारण किसानलाई खेतीपाती गर्न सहजता ल्याउने गरी निर्णय हुन सक्ने बताउनुभयो । उहाँका अनुसार किसानले अब कृषि जन्य सामग्रीको प्रयोग गर्न पाउनेछन ।
विभिन्न व्यक्तिको राय सुझावको आधारमा निर्णय लिइने बताउनुभयो । यद्यपि लकडाउनमा थप कडाई हुने सम्भावना कम छ ।
कपिलवस्तु आइतबार मंगलबार विहानसम्म ३ सय १७ जना कोरोना संक्रमित भेटिएका छन ।







प्रतिक्रिया