४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना सर्ने त्रासले तरकारी रोक्ने निर्णय गरेका हौं, अब रोक्दैनौंः सांसद घिमिरे



मायादेवी अनलाइन, चार नम्बर ।
अर्घाखाँचीका प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले कपिलवस्तुको तरकारी डम्पिङ साइटमा फालिएको विषयले आफु दुखित भएको प्रतिक्रिया दिनुभएको छ । किसानले दुखजिलो गरेर उत्पादन गरेको तरकारी डम्पिङ साइटमा फाल्नु निन्दनीय कार्य भएको भन्दै यो विषयबारे छिट्टै सर्वपक्षिय बैठक बस्ने जानकारी दिनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष रेडियो संवाद कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले कोरोना संक्रमण बढेको जिल्लाबाट आयात हुने तरकारीलाई प्रतिवन्ध लगाउने निर्णय सिडिओको अध्यक्षतामा बसेको बैठकबाट भएको प्रष्ट पार्नुभयो । तर, व्यापारीको जालसाज्जीले गर्दा यस्तो घटना घटेको उहाँले आरोप लगाउनुभयो ।

‘प्रतिबन्ध लागेको तरकारी जवरजस्ती ल्याउनुनै व्यापारीको कमजोरी थियो । कसरी सन्धिखर्क तरकारी ल्याइयो ? यो विषयमा अनुसन्धान हुनुपर्छ, उहाँले भन्नुभयो, ‘तरकारी व्यापारीले लगिहाले पनि डम्पिङ साइटमा फाल्नु झनै हुन्थेन, जुन कार्य निन्दनीय छ ।’

अर्घाखाँची र कपिलवस्तु निकै घनिष्ट छिमेकी जिल्ला भएको भन्दै तरकारीको विषयलाई अतिरञ्जित पार्दै सम्बन्ध विगार्ने काम गर्न नहुनेमा जोड दिनुभयो । ‘जे नहुनु थियो, भैहाले छ, अब यो विषयलाई अतिरञ्जित गर्नुहुँदैन, उहाँले भन्नुभयो, ‘अब भएका कमिकमजोरीबाट पाठ सिकेर अगाडी बढ्नुपर्छ ।’

तरकारी डम्पिङ साइटमा फालेको विषयले देशव्यापी चर्चा पाइरहेको बेला प्रदेश सांसद घिमिरेले कोरोना संक्रमणको त्रासले नै तरकारी आयात रोकेको प्रष्ट पार्नुभयो । कोरोना के कारणले लाग्छ ? कसरी सर्छ भन्ने विषयमा नै विश्व मानव समुदाय अलमलमा परेको बेला तरकारीबाट पनि कोरोना सर्ने हल्लाकै कारण यस्तो निर्णय गरिएको बताउनुभयो । अधिकांशले तराईबाट गएको खाद्यान्नमा कोरोना नहुने, तरकारी हुने भन्दै प्रश्न गरिरहेका छन ।

‘खाद्यान्नबाट कोरोना नसर्ने, तरकारीबाट सर्ने भन्ने विषय नै होइन । एकताका तरकारीबाट कोरोना फैलियो भनेर चर्चा नभएको होइन, त्यहि सुनेर निर्णय गरिएको हो, उहाँले भन्नुभयो, ‘अब स्वास्थ्य विज्ञ र स्वास्थ्य मन्त्रालयले यो विषयमा प्रष्ट पारिसकेको छ, विगतजस्तै गरी तरकारी आयात गर्छौ, रोक्दैनौं ।’

सांसद घिमिरेसंगको अन्तर्वार्ता सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ३ : १२ बजे