१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आरडिटीमा नेगेटिभ आएपछि घर पठाइयो, पिसीआरमा कोरोना देखिएपछि शीतगंगामा भयो हंगामा !



बिष्णु कुमार आले, अर्घाखाँची ।
पिसीआर रिपोर्ट आउँन ढिला भएपछि अर्घाखाँचीको ज्योति मावि ठाडाको क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परिक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई विहीबार बिहान घर घर पठाईएको थियो ।

१२ दिन अगाडी उनीहरूको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको थियो । तर, १२ दिनपछि सातै जनाको पिसीआर रिपोर्ट विहीबार दिउँसो सार्वजनिक भयो । घर पठाईएका १ जना शीतगंगाका ३६ बर्षीय पुरूषको पिसीआर रिपोर्ट पोजेटिभ आएपछि सबै झसङ्ग भए ।

संक्रमित पुरूषसंगै अन्य ६ जना पनि घर गएका थिए । कोरोना संक्रमित व्यक्ति यसरी गाउँ प्रबेश गर्दा गाउँ टोलका नागरिक झस्कनु स्वाभाविक हो । तर, घर पठाउँदा स्वास्थ्यकर्मीले घरमै एकान्त कोठामा बस्नु पर्छ, परिवारसँग १५ दिनसम्म घुलमेल नहुनु भन्दै सम्झाएर पठाएपछि संक्रमित घरपरिवारसँग टाढा रहेर बसिरहेका बेला आजै प्रहरी र स्वास्थ्यकर्मीको टोलि घरमै पुगेर संक्रमितलाई सन्धिखर्क हटारीमा रहेको आईसोलेशनमा ल्याईदै छ ।

अन्य ६ जनाको पिसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । तर, संक्रमित पुरूषको बुधबार आरडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । संक्रमितसंगै शीतगंगा ४ का २ जना, शीतगंगा ५ का १ जना, शीतगंगा ६ का १ जना, शीतगंगा ३ का १ जना र मालारानी ३ का १ जना गरी ६ जना घर गएका थिए ।

संक्रमित घर गएपनि घुलमेल कसैसँग नगरेको पाईएकाले घर परिवार टोललाई सिल गर्नु पर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । अहिले संक्रमित सन्धिखर्क आईसोलेशनमा आएपछि सोधपुछ गरेर एउटा निष्कर्ष निकालिने प्रजिअ पौडेलले बताए ।

‘पिसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई आरडिटी रिपोर्ट नेगेटिभ आएको आधारमा घरमा पठाउनु गलत थियो । यो भुललाई हामीले आत्मसाथ गर्नै पर्छ । यस्ता कार्य आगामी दिनमा दोहोरिनु हुँदैन । यसबाट पाठ सिक्नै पर्छ । यस्ता क्वारेन्टाइन व्यवस्थापनमा फितलो कच्चा कामले गाउँमा कोरोनाको जोखिम बढ्न सक्छ । समयमै सबै सचेत हुन जरूरी छ’, सरोकारावाला बताउँछन ।

पिसीआर रिपोर्ट नआउदै क्वारेन्टाइनमा बसेकाहरूलाई किन घरमा पठाईयो भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले पिसीआर रिपोर्ट नआउँदै घर पठाउने काम गलत भएको प्रतिक्रिया दिएका छन् । संक्रमित आईसकेपछि सोधपुछ गरिने डाक्टर गौतमले बताए ।

जेठ १ गते उनीहरू भारतबाट हिडेर शीतगंगा आएका थिए । क्वारेन्टाइनमा बसेको २२ दिनपछि मात्र पिसीआर रिपोर्ट आएको हो । प्रदेश ५ मा ३ ओटा पिसिआर कोरोना प्रयोगशाला भएपनि संक्रमितको चाँप बढ्न थालेपछि पिसीआर रिपोर्ट ढिला आउन थालेको हो ।

जिल्ला जिल्लामा प्रयोगशालाको दायरा बढाउन माग गरेपनि सरकारले अझै यसको व्यवस्थापन गर्न सकेको छैन । अर्घाखाँची जिल्लामा पनि कोरोना पिसिआर जाँचका लागि प्राविधिक स्वास्थ्यकर्मी सहित प्रयोगशालाको माग गरिए पनि यसको सुनुवाई हुन सकेको छैन ।

पटक पटक जिल्लामा सर्वपक्षियको बैठकले निर्णय गरि प्रदेश तथा संघीय सरकारलाई जिल्लामा प्रयोगशाला स्थापनाको लागि आग्रह गरिरहेको छ । तर, सुनुवाई हुन सकेको छैन । एकापट्टि किटको अभाव भएको छ भने अर्को जिल्ला जिल्लामा कोरोना प्रयोगशाला नहुँदा परिक्षणको दायरा फराकिलो हुन सकेको छैन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ५३ बजे