२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा कोरोनाबाट मर्नेको संख्या १२ पुग्यो




काठमाण्डौँ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ।

मृतक ती पुरूष सुर्खेतमा बस्दै आएका थिए। उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो।

मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो।

गाउँपालिका अध्यक्ष नारासिंह रोकायले सेतोपाटीलाई दिएको जानकारीअनुसार ती पुरूषको अन्त्यष्टि गरिसकिएको छ। उनी दमका रोगी थिए।

साथै मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  १ : ५५ बजे