३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

दक्षिण एसियामा कोभिड–१९ को प्रभाव बढ्दो, कुन देशमा के छ स्थिति ?



काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।

सबैभन्दा कम प्रभावित दक्षिण एसियाली देश भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ।

त्यस्तै बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित देशको सूचीमा नेपाल रहेको छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  १० : १६ बजे