५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोभिड-१९ बिरुद्ध ताईवान र कोरियन रणनितीबाट नेपालले सिक्नु पर्ने कुरा



बिबेक गिरी ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ । बिभिन्न राष्ट्रहरुले कोरोना रोकथामको लागि बिभिन्न रणनितीहरु अपनाइरहेका छन ।

यस विपतको घडीलाई विभिन्न देशहरु जस्तैः दक्षिण कोरिया, सिंगापुर, भियतनामले चामत्कारिक ढंगबाट कोभिड-१९ नियन्त्रण गर्न सफल भएका छन् ।

दक्षिण कोरीया र ताईवानले कोरोना नियन्त्रणको लागि अपनाइरहेका केही रणनितीहरु,

ताईवानः

धेरै जना बैज्ञानिक र अनुसन्धानकर्ताको भनाई अनुसार वुहान पछि धेरै संक्रमण फैलिन सक्ने ठाउँको रुपमा ताईवान हुने आँकलन गरेका थिए । २००३ मा भएको सार्स इपिडेमिकबाट राम्रो पाठ सिकेको ताईवानले पूर्व अनुमानित कुराहरुलाई गलत साबित गरिदियो । जब वुहानमा कोरोनाको केस बडिरहेको थियो । त्यहि बेला ताईवानले चाइना, हङ्कङ मकाउबाट हुने सबै यातायातका माध्यमहरु पूर्ण रुपमा बन्द नै गरिदियो । त्यसपछि जनवरीको अन्तिम साताबाट पुरै ताईवान भरी नै मास्कको सप्लाई राम्रोसँग गर्‍यो । बजारमा मास्कको कमी हुन नदिनको लागि हप्ता हप्तामा प्रत्येक मेडिकल पसलबाट मास्क किन्न पाउने गरी एउटा नियम बनायो । त्यती मात्र नभै ६८ मिलियन अमेरिकी डलर नै खर्च गरेर ६० वटा मास्क बनाउने कम्पनी नै बनाउने निर्णय गर्‍यो । जसबाट प्रती दिन १८ देखि ८ मिलियन वटा मास्क उत्पादन गर्‍यो र मास्कको कमी हुन दिएन । अर्को तर्फ टेक्नोलिजीको प्रयोग पनि त्यतिकै गर्‍यो । कन्ट्याक्ट ट्रेसिङलाई मुख्य ढालको रुपमा प्रयोग गरेर काम गर्‍यो । जसले गर्दा संक्रमणको शंका भएका ब्यक्तिलाई ट्रेश गरी क्वारेन्टाइनमा राख्न मद्त पुगेको थियो । जो ब्यक्तीले सरकारले भनेको नियमको पालना गर्दैन उसलाई कारबाही समेत गर्ने भनेर भन्यो । त्यति मात्र हैन, क्वारेन्टाइनमा भएका ब्यक्तिलाई १४ दिनसम्म खाने बस्ने राम्रो ब्यवस्था थियो भने दिनको ३० अमेरिकी डलर भत्ताको रुपमा पनि दिने निर्णय गर्‍यो । जसले गर्दा त्यहाँका ब्यक्तिलाई क्वारेन्टाइनमा बस्नको लागि ठुलो हौसला मिल्यो र रोग नलुकाई सरकार समक्ष भन्न जान थाले । सरकारले बनाएको नियम र जनताहरुको अनुशासनको कारणले गर्दा कोरोना नियन्त्रणमा ताईवान सफल भैरहेकोछ छ । आज यो लेख्दाको दिनसम्म ताईवानमा कोरोना भाईरसको कारण ४४३ जना संक्रमित ब्यक्ति छन भने ७ जनाको मृत्यु भैसकेको छ ।

दक्षिण कोरियाः
ताईवानसंगै कोरोना नियन्त्रणको लागि दक्षिण कोरियाले अहिलेसम्म पूर्ण लकडाउन बिना अपनाएको रणनीती आजको दिनसम्म सफल रहेको छ । सन २०१५ मा फैलिएको मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम) नामक रोगबाट नराम्रो क्षती ब्यहोरेको कोरियाले राम्रो पाठ सिकेको थियो र त्यहि कारणले गर्दा अहिले कोरोना बिरुद्धको लडाईंमा सफल भैरहेकोछ छ । जब चीनको वुहानमा संक्रमण फैलियो, तब देखि नै कोरियाले यहाँ पनि फैलिन सक्ने भन्दै राणनीतीहरु अपनाई पूर्व तयारीहरु गर्न थाल्यो । टेस्टिङ् र कन्ट्याक्ट ट्रेसिङलाई मुख्य ढालको रुपमा लिएर काम गर्न सुरु ग¥यो । अहिलेसम्म यहाँ ६०० भन्दा बढी परिक्षण गर्ने ठाउँहरु छन भने प्रती दिन २० हजार भन्दा बढी ब्यक्तिको कोरोना परिक्षण गर्न सकिरहेको छ । कुनै पनि संक्रमित ब्यक्ति भेटिएको खण्डमा उनीहरुसँग हरेक कुराहरुको सोधपुछ गर्नुका साथै उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुलाई फोन, सिसी क्यामेराको रेकर्ड हेरी ट्रेश गरिन्छ, जुन कुरा एकदमै प्रभाबकारी रहेको छ । यसका साथै मोबाइल फोनमार्फत आपतकालिन सूचना प्रेषण गर्ने, महामारीको हटस्पट पत्ता लगाउने, सरकारका आधिकारिक वेबसाइटबाट टेस्ट रिपोर्ट पोजेटिभ भएकाहरुको सूचना प्रवाह गर्ने काम गरिरहेको छ । संक्रमित ब्यक्तिको संपर्कमा आएकाहरुलाई अनिवार्य टेस्ट गर्न लगाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न लगाएको छ । यदि नियमको पालना गरेको छैनन्, भने जरिवाना तिर्नु पर्ने नियम पनि लागु गरेको छ । कोहि अन्य देशका ब्यक्ति यो समयमा कोरिया आएका छन र कोरियन सरकारले भने जस्तो नियमको पालना गरेका छैनन भने जरिवाना तिराएर उनीहरु कै देश फिर्ता गर्ने नियम पनि बनाएको छ । त्यसकारणले गर्दा कोरिया आउने ब्यक्ति अनिवार्य रुपमा १४ दिन कहि कतै नगई क्वारेन्टाइन मै बस्ने गरेका छन । कोरियाली सरकारले यहाँ भएका सम्पूर्ण नागरिकलाई घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ भने सामाजिक दुरी कायम गरी कार्यहरु गर्न भनेको छ । त्यति मात्र नभई मास्कको प्रयोग बिना सार्वजनिक यातायातका कुनै पनि साधन प्रयोग गर्न नपाउने निर्णय गरेको छ । जुन कुरा यहाँ भएका सबै नागरिकहरुले अनुशासित रुपमा पालना गरिरहेका छन् । कोभिड-१९ बिरुद्धको लडाईंमा अग्रपंक्तीमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षालाई बिशेष ध्यान दिई सुरक्षा प्रदान गरिरहेको छ । जुन कुराले गर्दा उनीहरु पछि नहटी कोभिड-१९ बिरुद्धको लडाईं उच्च मनोबल प्रदान गरिरहेको छ । यहि सम्पूर्ण कारण र यहाँका जनताले सरकारले भनेको सबै कुरा अनुशासित रुपमा पालना गरिरहेको भएर दक्षिण कोरिया कोभिड-१९ बिरुद्धको लडाईंमामा सफलता प्रदान गरिरहेको छ ।

नेपालले के गर्ने त ?

अहिले नेपाल पनि कोभिड-१९ बिरुद्धको लडाईंमा उभिएको छ । २०७६ चैत्र ११ देखि नेपालमा लकडाउन सुरु भएको थियो । ७० दिन भन्दा लामो लकडाउन भैसकेको नेपालमा कोभिड-१९ बिरुद्धको लडाईं खासै प्रभाबकारी भएको चाहि पाईदैन । यो हुनुमा नेपालमा फितलो स्वास्थ्य प्रणाली हुनु र पूर्व तयारी राम्रो नहुनुलाई नै मान्न सकिन्छ । संक्रमित र मृत्यु हुने ब्यक्तिको संख्या दिन प्रती दिन बढिरहेको छ । जसरी नेपाल सरकारले लकडाउन सहि समयमा गरेको थियो त्यसरी नै राम्रो रणनिती बनाएर अगाडि बढ्न भने सकेको छैन् । यदि राम्रो रणनिती र पूर्व तयारी छैन् भने लकडाउन मात्र गरिरहनुको कुनै औचित्य नै छैन् । लकडाउन मात्र बढाउने तर परिक्षणको दायरा नबढाउने, बिशेष पूर्वधारको बिकास नगरेको हो भने लकडाउन मात्र किन गरिरहने ? आजको दिनसम्म धेरै ठाउँमा राम्रो र व्यवस्थित क्वारेन्टाइन र आइसोलेशनको लागि ठाउँ पनि छैन् । क्वारेन्टाइनमा भएका र क्वारेन्टाइनसँग जोडिएका मृत्युहरु हुनुमा राज्यको ठुलो लापरबाही देखिन्छ । यसरी कोरोना बिरुद्धको लडाईंमा हार हुने कुरामा कुनै दुई मत नै छैन् ।

त्यसैले नेपालमा कन्ट्याक्ट ट्रेसिङ र पिसीआर टेस्टलाई मुख्य योजनाको रुपमा प्रयोग गरी परिक्षणको दायरा बढाएर पिसीआर टेस्ट, र टेस्टलाई मुख्य ढाल बनाएर काम गर्नु पर्दछ । व्यवस्थित क्वारेन्टाइन र आइसोलेशनको ठाउँहरु छिटो भन्दा छिटो बनाउनु पर्छ । यदि कोही ब्यक्ति नेपाल भन्दा बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका छन् भने उक्त ब्यक्तिको पिसीआर टेस्ट अनिवार्य रुपमा गर्नु पर्दछ । तर, पिसीआरको ठाउँमा र्यापिड टेस्टलाई बेसी प्राथमिकता नदिनुमा नै सबैको कल्याण हुने छ । कोभिड-१९ बिरुद्ध फ्रन्ट लाईनमा बसेर काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी अनी सुरक्षाकर्मीहरुलाई चाहिने हरेक कुराहरु सरकारले प्रदान गरी उनीहरुको मनोबल उच्च बनाउनु पर्दछ । राज्य सँगसगै आम नागरिकले पनि सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग राम्रोसँग गर्ने र राम्रोसँग हात धुने कुरालाई पनि अनुशासित रुपमा पालना गर्नु पर्दछ । यसरी कोरोना बिरुद्धको लडाईंमा सरकारसंगै हातेमालो गरेर उभिनु हामी सबैको दायित्व हो ।

यसका साथै अब राज्यले अहिलेको कुराहरुबाट धेरै पाठ सिकेर नेपालको स्वास्थ्य प्रणालीमा बिशेष ध्यान दिएर नयाँ र व्यवस्थित प्रणाली लागु गर्नु पर्दछ ।

लेखक दक्षिण कोरिया स्थित हान्याङ विश्वबिद्यालयमा ग्लोबल हेल्थ एन्ड डेभलप्मेन्ट (स्वास्थ्य नीति) सम्बन्धि बिषय लियर अध्ययन गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : १५ बजे