५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डा. ‘साप्’ को रोल नम्बर ४ !



चन्द्रकान्त न्यौपाने ।
देशमा अहिले कि त कोरोनाको चर्चा छ, कि त डा. बाबुराम भट्टराईको । यी दुवैलाई जोडेर चर्चाको कुरा गर्ने हो भने कोरोनाको चर्चा एक नम्बरमा छ भने, केही दिनअघिबाट डाक्टर बाबुराम भट्टराइको चर्चा दोश्रो नम्बरमा छ । कोरोनासंगै नेपालमा बाबुरामको प्रसंग सामाजिक संजालहरु फेसबुक र ट्वीटरबाट सरेर पत्रपत्रिकामा लेख र कार्टुनका रूपमा अभिव्यक्त हुन थालेका छन् । कोरोना चर्चा विश्व समुदाय अहिले पनि अन्यौलमा छ । यसको उत्पत्ति र निराकरणबारे संसारको कुनै तागतले भेटेको छैन ।

यता नेपालमा भने कोरोना त छँदै छ, बिभिन्न घटनाले चर्चा पाइरहन्छन् । कहिले गंगा चौधरीको चर्चा, कहिले सरिता गिरीको चर्चा, त अहिले डा. साप्को । डा. साप्को बौद्धिकता ब्यक्तिगत र राजनैतिक दुवै रुपमा उत्कट रुपमा प्रकट हुँदा चारैतिर चर्चा भइरहेको छ । बल, सामर्थ र बुद्धिमा बाबुराम भगवान् गणेशभन्दा चौगुना विराट ब्यक्ति भएतापनि त्यो विराटतामा किन विस्तारै खिया लाग्यो ? बाबुराम किन एकाएक उत्तानो परे भनेर टिकाटिप्पणी गर्ने, बहस गर्ने र विश्लेषण गर्नेको लाम सडकदेखि सदनसम्म, सुरमुनीदेखि भुसुनासम्म लहरै देखिन्छ ।

‘सधैं प्रथम’ हुने वा ‘कहिल्यै दोस्रो नहुने’ का रुपमा बहुपरिचित डा. बाबुराम भट्टराई वि.सं. २०२६ मै एक रोल्नम्बर कायम गर्न सफल हुनुभएको थियो भने वि.सं. २०७७ सम्म आइपुग्दा उहाँको रोल नम्बर चार हुन पुगेको छ । अर्थात् संघीय समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजबादी पार्टी निर्बाचन आयोगमा दर्ता हुँदा उहाँको रोल्नबर ४ हुन पुगेको हो । डा. साप्को ब्यक्तित्वको यस गिरावटलाई राजनीतिवृत्तमा मयलबाट उत्पन्न गजेन्द्र शिरधारी गणेश भन्न थालिएको छ भने उहाँको राजनीति पतनको दिशामा गएको त होइन भनेर चर्चा हुन थालेको छ ।


एसियामै औँलामा गन्न सकिन विद्वान्को सूचीमा नाम चढाउने छवि बनाउनुभएका, तत्कालिन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का पूर्व केन्द्रीय उपाध्यक्ष, संघीय गणतन्त्र नेपालका ३५ औं, गणतान्त्रिक नेपालको चौथो तथा माओवादीका तर्फबाट दोस्रो प्रधानमन्त्री, एसएलसीमा बोर्ड फस्ट, संविधान सभामा सबैभन्दा बढी मत र मतअन्तरले जित्न सफल तथा नयाँ शक्ति पार्टीको संस्थापक रहनु भएका डा. उपाधि प्राप्त बाबुराम भट्टराईको यो स्खलित राजनीति देख्दा उहाँका बौद्धिक फ्यान तथा उहाँप्रति माया राख्ने सबै आश्चर्यचकित हुन पुगेका छन् ।

शैक्षिक जीवनमा रोल नम्बर १ !

गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न–मध्यमवर्गीय किसान परिवारमा वि.सं. २०११ असार ४ गते शुक्रबार (जुन १८, १९५४) मा जन्मिनुभएका बाबुराम भट्टराईको समग्र शैक्षिक जीवनमा रोल नम्बर १ नै रह्योे ।

सन् १९६३ मा अमर ज्योति हाइस्कुलबाट औपचारिक शिक्षा सुरु गर्नुभएका बाबुराम शुरुमै नै तीन कक्षामा भर्ना हुनुभयो । भर्ना भएदेखि नै उहाँ पढाइमा तीक्ष्ण देखिनुभयो । स्कुले जीवनभर उहाँ सधै प्रथम मात्रै हुनुभयो । कसैले सपनामा सोच्न गाह्रो भए पनि उहाँ सन् १९७० अर्थात् वि सं २०२६ सालमा एसएलसीमा बोर्डफस्ट हुनुभयो र एकजना गाउँले केटो बोर्डफस्ट भएपछि चौतर्फी चर्चा भयो ।

त्यसपछि पनि उहाँको रोल नम्बरमा फेरबदल भएन । उहाँले अमृत साइन्स कलेज, काठमाडौंमा विज्ञान विषय पढ्न थाल्नुभयो । त्यहाँ प्रविणता प्रमाणपत्र तहमा पनि उहाँ प्रथम नै बन्नुभयो । सो तहका दुवै राष्ट्रिय परीक्षामा लगातार प्रथम हुने अहिलेसम्मकै उहाँ नै सम्भवतः एकमात्र विद्यार्थी हुनुहुन्छ । त्यसपछि विद्याबारिधीसम्म नै उहाँ अब्बल हुनुभएको थियो ।

पहिलो संविधान सभा चुनावमा रोल नम्बर १ !

शैक्षिक रोल्नम्बर एक भए पनि राजनैतिक रोल्नम्बर भने उहाँको स्थान घटबढ भइरहेको देखिन्छ । भट्राई वि.सं. २०५२ सालदेखि सुरु भएका जनयुद्धका एक बौद्धिक कमाण्डर हुनुहुन्छ । पार्टी वरियतामा पुष्पकमल दाहालको रोल्नम्बर १ र बाबुरामको २ भयो । त्यसै कारण भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । यसकारण उहाँको पार्टीमा रोल्नम्बर २ भयो । प्रचण्डको नेतृत्व र बाबुरामको भिजनमा पार्टीलाई ‘ंसंचालन गरिन्थ्यो भने सांगठनिक रुपमा पछिपछि मोहन वैद्य किरण, अहिलेका गृहमन्त्री राम बहादुर थापा बादल लगायत रहनुभएको थियो ।

तत्कालिन (माओवादी) पार्टी विस्तृत शान्ति संझौतामार्फत् जनयुद्ध त्यागेर संसदीय राजनीतिमा आएपछि वि.सं. २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा बाबुरामको रोल्नम्बर १ नै भयो । अर्थात् संविधान सभामा सबैभन्दा बढी मत र मतअन्तरले जित्न सफल माओवादी सभासद् डा. बाबुराम भट्टराइ नै बन्नुभयो ।

उहाँले त्यतिखेर कांग्रेसका प्रत्यासी (आफ्नै मामा पर्ने चन्द्रप्रसाद न्यौपानेलाई) ४० हजारको अन्तरले हराउनुभयो । ४६ हजार २ सय ७२ मत प्राप्त गरेका उहाँको यो मतान्तर अहिलेसम्मकै ठुलो हो । यसरी २०६४ सालमा उनको रोल्नम्बर १ नै रह्यो । उहाँमा रहेको वौद्धिकताका कारण उहाँले त्यो प्रभावशाली जित हासिल गर्नुभयो । त्यसपछि सम्पूर्ण नेपालीको मन बाबुराममय भयो । पार्टीभित्र वैचारिक र नेतृत्वमा ठुलो द्धन्द्ध रहे पनि नेपाली जनताको मनमा भने बाबुराम देशको भविष्यकै रुपमा गाडिएर बसे ।

त्यसपछि पनि उहाँको राजनैतिक जेटले उडान भरिरह्यो । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित नेपाल सरकारमा भट्टराइले भाद्र ६, २०६५ (अगस्ट २२, २००८) देखि नौ महिनासम्म अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो ।

त्यसपछि थप चर्चा कमाउनुभएका बाबुराम वि सं २०६८ भाद्र १२ गते मुलुकको ३६ औँ प्रधानमन्त्री बनेर देश सम्हाल्नुभयो । जुन उहाँको जीवनकै अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि हो । यतिखेरसम्म उहाँको रोल नम्बर १ नै रह्यो । ९ महिनासम्म मुलुकको काम चलाउन सरकारको नेतृत्व गर्दै त्यसपछि पनि डाक्टर भट्टराइले संबैधानिक समितिको सभापति र राजनैतिक संवाद समितिका सभापति रहेर वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्नसम्म डाक्टर बाबुराम भट्टराईको भूमिका मुलुकको लागि निकै महत्वपूर्ण रह्यो ।

नयाँ शक्तिमा रोल नम्बर १ !

संविधान जारी गरिसकेपछि भट्टराइले वि.सं. २०७२ असोज ९ गते नेकपा (माओवादी केन्द्र) परित्यागको घोषणा गर्नुभयो । आफैले जारी गरेको संविधान नै अपूरो भएको घोषणा गर्दै पुष्पकमल दाहाल प्रचण्डसंगको तीन दशक लामो राजनीतिक सहकार्य तोड्दै अचानक पार्टी परित्याग गर्नुभएका भट्टराइको त्यतिखेरबाटै रोल्नम्बर १ माथि प्रश्न खडा हुन सुरु भएको थियो । पार्टी छोड्दा नयाँ पार्टी खाल्नेबारे खासै धारणा दिन नसक्नु भएका डाक्टर भट्टराइले स्थापना मिति‎ ‎१२ जुन, २०१६ मा अचानक नयाँ शक्तिको घोषणा गर्नुभयो । देशभरबाट करिब १ लाख मानिसलाई काठमाडौंको दशरथ रंगशालामा उतारेर तामझामका साथ आफ्नो संयजकत्वमा नयाँ पार्टी खोलेपछि सुरुमा धेरैले ठिकै भने । नयाँ शक्तिमा पनि भट्राइको रोल्नम्बर १ नै रह्यो ।

अनुभवी राजनीतिज्ञ, कलाकार, प्राध्यापक, डाक्टर, इन्जिनियर आदिलाई समावेश गरेर नयाँ शक्ति खोलेपछि सुरुका केही दिन भट्टराइले केही गर्छन् कि लाग्यो । तर बाबुरामका अति नै सहयोगीमध्येका एक विश्वास पात्र देवेन्द्र पौडेल ‘सुनिल’ लगायतले पनि नयाँ शक्ति छोडेपछि धेरैले बाबुरामको नेतृत्वमाथि प्रश्न उठाए । उद्घाटनमा जस्तो चाम थियो पछि विस्तारै त्यो चमिकलोपना धर्मराउँदै गयो । धेरैले त्यहीबाट नै बाबुरामको रोल्नम्बर खोसिन सुरु भएको बताउँछन् ।

(माओवादी)बाट अलग भएपछि छुट्टै दल बनाई भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन माओवादीलाई चक्मा दिने योजनामा ७४ को संघीय संसदको चुनावमा लडे, तर आफैँले चक्मा खाँदै केवल गोरखा कांग्रेसको सद्भावमा सानदार विजय पाए । सोही चुनावमै यता बुटवलमा भने एमालेका विष्णु पौडेलले डाक्टर सापलाई नराम्ररी पराजित गरे । त्यो लज्जास्पद हार पछि नै बाबुरामको पतन सुरु भयो र उनको रोल्नमबर एकमा ठुलो धक्का लाग्यो ।

फोरममा रोल नम्बर १, जसपामा रोल्नम्बर ४ !

बाबुरामको राजनैतिक उतारचढाव रोचक नै छ । नयाँ शक्तिमा आएको शक्ति विचलन पछि बाबुराम फोरमसंगको एकतामा पुगे । वि सं २०७६ वैशाख, २२ गते शनिबार फोरम र नयाँ शक्ति मिलेर संघीय समाजबादी पार्टी बन्यो । यो पार्टी जेट विमान दुई ‘पाइलट’ले चलाउने निर्णय भयो । वरियतामा डाक्टर भट्टराई साप पहिलो र उपेन्द्र यादव यादव दोस्रो वरियतामा रहने गरी एकतामा हस्ताक्षर गरे ।

फोरममा डाक्टरले पाएको रोल्नम्बर त्यति अस्वाभाविक थिएन । जनयुद्ध लडेका बाबुराम उपेन्द्रको शरणमा पर्न गएपछि उनको थप आचलोचना त भयो तर, पदलाई लिएर त्यतिधेरै आचोचनाको अचानोमा भट्टराई पिसिनु परेको थिएन । बिभिन्न पार्टीमा पद खोज्दै भौतारिनुले भट्टराई बौद्धिक भए पनि पार्टी चलाउने क्षमतामा अक्षम रहेछन् भन्ने पुष्टि भयो । यो बीचमा पनि सो पार्टीमा अनेक उतार चढाव आए । उपेन्द्रसंग लागेर उनले पहाड र हिमाललाई पनि थप चिढाउने काम गरेपछि उनको लोकप्रियता सिनित्तै फोहरमा मिल्कियो ।

अहिले त ती बौद्धिक उचाई पाउनुभएका डाक्टर साप्को रोल्नम्बर ४ हुन पुगेको छ । सरकारले सबैलाई छलेर ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको असरले लामो समयदेखि एकता प्रयासमा रहेका दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई छिटो एकीकृत हुन भूमिका खेल्यो । गत वैशाख १० गते मध्येरातमा यी २ पार्टीले एकता कायम गरे ।

राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । त्यसमा बाबुरामलाई एक या दुई नम्बरमा राख्ने सहमति भएको थियो । बीचमा यही वरियताको टुङ्गो लगाउन नसकेर छट्पटिएका नेताहरुले ७७ जेठ २५ गते निर्वाचन आयोगमा दल दर्ता गर्नै पर्ने स्थिति आयो । महन्थ ठाकुरपछि दोश्रो वरियतामा रहनुभएका बाबुरामको नाममा टिपेक्स लागेर एक्कासी चौथो नम्बरमा पुग्यो । सदैव रोल नम्बर एक कायम गर्न सफल डाक्टर बाबुराम साप्को यो क्रमले उहाँ राजनीतिमा ‘बबुरो’ सावित हुनुभएको छ ।

उहाँको यो राजनैतिक गिरावटले उहाँको जनयुद्ध लडेको, प्रधानमन्त्री बनेको सबै साख माटोमा मिल्किएको भन्दै राजनीतिका पंडितहरुले खिसीट्युरी गरी ब्यंग्यसमेत उडाएको देखिन्छ । बाबुरामको वरियतालाई लिएर सामाजिक सञ्जाल पनि रंगिएका छन् । राजनीति नबुझ्नेदेखि बिभिन्न पार्टीका सामान्य कार्यकर्ता र बौद्धिक वर्गले समेत बाबुरामको गिरावटलाई पतनको रुपमा लिएका छन् ।

माओवादी जनयुद्ध हाँकेका, प्रधानमन्त्री भइसकेका, एउटा सिंगै पार्टीका अध्यक्ष भइसकेका व्यक्ति एकाएक मधेशबादी दलमा चौथो नम्बरमा अर्थात् महन्थ ठाकुर, उपेन्द्र यादव र अशोक राइपछि छन् । त्यसपछि राजेन्द्र महतोको रोल क्रम छ । उनलाई वरिष्ठ नेतासहित तेस्रो नम्बरमा राख्न खोजिएको भएपनि राजेन्द्र महतोले आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने अशोक राईलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान लिएका थिए । तर पनि विश्लेषकहरु तेश्रो रोल नम्बर पनि बाबुरामको लागि उपयुक्त नरहने बताउँछन् ।

महन्थ ठाकुरलाई संयोजक बनाएर आफू संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुपर्छ भन्ने बाबुरामको अडान फेल नखाएको भए उहाँको यतिधेरै आलोचना हुने थिएन । के बाबुरामको हैसियत महन्थ, उपेन्द्र, अशोक राईको भन्दा कमजोर हो त ? उहाँको हैसियत अब राजेन्द्र महतोसंग मिल्न गएकै हो ? धेरैको प्रश्न छ ।

अहिले उहाँ के सोचिरहनुभएको छ थाहा छैन् तर, आम जनता र उनको बौद्धिकतामा रुची राख्नेहरु बाबुराम सक्किए भन्ने सोँचिरहेका छन् । कागजमा उल्लेख गरिएको जसपाको वरियताले उहाँको बौद्धिकतालाई निर्धारण नगर्ला तर भट्टराईका पछिल्ला गतिविधिले उहाँको बौद्धिकताको विर्कोमा लेउ लागेको बुझिन्छ ।

मुलुकको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन बाबुराम पदलोलुप, षड्यन्त्रकारी सिद्धान्तहीन र आवेगमा अभिब्यक्ति दिने लगायतका गुणका साथै अस्थिर आचरण र अडान, व्यवहार, नीति, अभ्यास इत्यादिका कारण राजनीतिक उचाई निमोठिएको भनेर विश्लेषण गरिन्छ । यिनै विश्लेषणको आधारमा उहाँको जीवन क्रमको रोल्न नम्बरबारे केही चर्चा गर्न खोजेको हुँ ।

मुलुकको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन बाबुराम किन यति धेरै खस्किए भन्नेमा उहाँका केही चरित्रले काम गरेको छ । पदलोलुप, षड्यन्त्रकारी, सिद्धान्तहीन, आत्मकेन्द्रित, अन्र्तमुखी, अस्थिर, आवेगमा अभिब्यक्ति दिने लगायतका गुणका साथै आचरण र अडान, व्यवहार, नीति, अभ्यासमा डाक्टर सापखस्किएको विश्लेषण गरिन्छ । उहाँको भोलीको भविष्य के हुन्छ ? के गर्छन् ? हेर्दै जाऔँ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ९ : २४ बजे