४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुमा विद्युत चुहावट बढ्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरसका कारण जारी लकडाउनले बिद्युत चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवामा बितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो ।

कोरोना भाइरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी बिद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ । लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाउँ गाउँमा चुहावट अभियान चलाईएको प्राधिकरण तौलिहावाका प्रमखु जय कुमार यादवले बताए ।

कोरोना भाइरसका कारण कर्मचारीहरु फिल्डमा खटिन नसके पछि गत चैत यता चुहावट बढेको उनले बताए । अहिले लकडाउन खुलेपछि कर्मचारीहरुलाई चुहावट बढी हुने दक्षिणी क्षेत्र तर्फ परिचालन गरिएको उनले बताए ।

रातको सयममा हुकिङ गरी चोरी गर्ने गरिएकाले सुराकीका लागि कर्मचारीहरुलाई मोटरसाइलमा पठाउने गरिएको छ । ‘पहिला चोरी गर्ने स्थान र ब्यक्तिको पहिचान गर्छाै, अनि टोलीलाई त्यहाँ पठाउने गरेका छौ’ प्रमुख यादवले भने ।

मायादेवी, यशोधरा र सुद्धोधन गाउँपालिकाका बिभिन्न गाउँहरुमा चुहावट बढी हुने गरेका छन् । पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउँहरुमा संगठितरुपमा नै बिद्युत चोरी गर्ने गरिएका छन् । अहिलेको एक साताको अभियानमानै नौ वटा पानी तान्ने मोटर, बल्डीङ मेशीन, एक थान मिटर सहीत २ जनालाई नियन्त्रणमा लिईएको छ ।

यशोधरा गाउँपालिको रंगपुरमा वल्डीङ मेशीन, २ थान मोटर तथा २ जनालाई पक्राउ गरिएको प्रमुख यादवले बताए । पक्राउ गरिएका २ जनालाई जरिवाना तिराई छाडिएको छ ।

यस्तै पर्साहियामा २ वटा मोटर, सिसहनियामा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा एक तथा तौलिहवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको छ । अभियान अन्तर्गत नै गत जेठ ३१ गते बलुहवामा चुहावट नियन्त्रणका क्रममा कर्मचारी माथि दुब्र्यवहार गरिए पछि गाउँ नै ब्ल्याक आउट गरिएको थियो ।

माफी माग्दै जरिवाना तिरे पछि एक दिन पछि छाडिएको थियो । चुहावट नियन्त्रणका लागि जनप्रतिनिधि, अगुवाहरुलाई आग्रह गरिए पनि चासो नदिदा चुहावट नियन्त्रणमा कठिनाई भएको प्रमुख यादवले बताए । तीन महिनाको लकडाउनले गर्दा चुहावट प्रतिशत समेत बढेको छ ।

गत बर्ष यही अवधिमा १२ प्रतिशतसम्म चुहावट झारिएकोमा अहिले भने २५ प्रतिशत चुहावट भएको छ । लकडाउनले बिद्युत महसुल संकलन समेत घटेकोे छ । लकडाउन अघि मासिक चार करोड बढी संकलन भएकोमा अहिले मासिक सवा करोडको हाराहारीमा मात्र संकलन भईरहेको छ ।
उता शिवगढीमा मिटर रिडरलाई समेत कोरोना लागे पछि बिद्युतका कर्मचारी समेत डराएकाले काम गर्न गाह्रो परेको बिद्युत कर्मचारीहरु बताउँछन । कर्मचारीहरुलाई सुरक्षित तरिकाले फिल्डमा खटाइएको प्रमुख यादवले बताए ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  १२ : ५३ बजे