रेडियो   टिभी

कथा– हाछ्युँ


देवेन्द्र पौडेल ।
बेसार मुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केही पनि थिएन । गफपनि उस्तै गर्थे, गफशास्त्रमा विद्यावारिधि गरे जस्तै । सबै कुरा जाने जस्तो गर्थे । पहिले कुनैबेला रातो राजनीति गरे । केही समय त विद्रोह तिर पनि लागे । लामो समय जेल पनि बसे । पछि पछि रातो राजनीतिबाट धैँसे राजनीति गर्न थाले । वाकपटुताको अस्त्रप्रयोग गरी राजनीति र शासनको नेतृत्व सम्हाल्न पुगे । आजकाल उनी नामुद वैद्य भएका छन् ।

एक दिनको कुरा हो, कुशासनमा (कुशआसन) बसेका बेसारमुनिको जडिबुटी कारखाना अगाडि कमिसन मुनिहरु जम्मा भए । आफ्ना अगाडि विन्ति भाउका साथ साक्षात्कार भएका कमिसन मुनिहरुलाई उनले सोधे, के भइरहेको छ लोकमा ? जवाफमा वरिपरि रहेका किन्नर, किन्नरी, नाग, यक्ष, गन्दर्धहरुले भने, हे बेसार मुनि ऋषिवर, मान्छेहरु त प्लेकार्ड बोकेर बेसार घसी सडकमै सुत्न थाले । उनीहरुको भनाइ छ, वैद्यले बेसारको मात्र कुरा गरे, पिसिआरको कुरा गरेनन्, भोकको कुरा गरेनन्, शोकको कुरा गरेनन्, स्ट्यान्ड अपकमेडीको कुरा गरे । अब हामी सहन्नौँ । रोग र भोकका बेला बेसार र पानीले भुलाउन खोज्ने अपराधी भन्न थाले । हरसम्भव उपाय लगाउँदा पनि चित्त बुझाउन सकिएन । उनीहरुका कुरा सुन्दा सुन्दा हामी त तनावमा छौँ । तोरी कतै फुलेको छैन, पहेँलै भएर धानका बाला कतै झुलेका हैनन् तर बर्खामासमा पनि सडक र बजार त थामि नसक्नु पहेंलपुर हुन थाल्यो ऋषिवर । हजुर त हास परिहासमा हुनुहुन्छ । बेलाबेलामा कथा सुनाउनु हुन्छ । कहिले स्यालका कथा, कहिले खरायोका मिठा कथा । उनीहरुको मुख थुन्न सकिने यस्तै कुनै अचुक कथा सुनाउनु होस् ।

त्यसो भए तिमीहरु आज के कथा सुन्न चाहन्छौ, निसंकोच भन्न सक्छौ ।

हे बेसारमुनि, आज हजुरको नामको कथा सुन्न हामी आतुर छौँ र यो तामझाम युक्त दुईतिहाईको संसारको सृष्टि कसरी भयो ? हजुरको वाहीवाहीको राज के हो, यस विषयमा जान्ने इच्छा छ । हजुरबाट मर्जी भएमा भोलिका दिनमा विलासपथ पछ्याउन हामीलाई सहज हुनेछ । हामी माथि कृपा गर्नुहोस् । हजुरको बेसार प्रिय मुखारविन्दबाट यो कथासुन्न पाएमा हामीले आफुलाई भाग्यमानी सम्झने थियौँ ।

तत्पश्चात् छेउमा राखिएको सानो डब्बाबाट एक फाँक बेसार मुखमा हालेर तातोपानीले घुटुक्क पार्दै ऋषिले भने, “हे मुनिहरु, मलाई लाग्दैन तिमीहरु यति धेरै लाटा छौ, मैले थाहै नपाए जस्तोगरी बसिरहँदा तिमीहरुले केके गरि सक्यौ भन्ने सुन्दैछु । हुन त कसले केके गर्छ, कहाँ कार्पेट फेर्छ, बत्ती फेर्छ, कहाँ गलैँचा ओछ्याइन्छ, कहाँ उपचारका नाम माकसले कति कुम्ल्याउँछ, त्यो मेरो सरोकारको विषय पनि होइन । मेरो सरोकारको विषय त सपना बाँड्ने हो ।

रकेटका सपना, हावाबाट ग्यास निकाल्ने सपना, घरघरमा पाइप लाइनबाट मिष्ठान्न पु-याउने सपना । त्यसैले सपना देखाउन सिक, मोनो रेल गुडाउने सपना देखाउने भाइ, भतिजहरुबाट पनि केही सिक, कोही भोकै मर्नु पर्ने छैन् भनी राख, कोही भोकै मरेका समाचार आउँदान सुनेजस्तो गर, भोकै हिंड्ने मान्छेलाई नदेखेजस्तो गर, मान्छेले सुइको पाउने गरी काम नगर, पाइहाले भने ध्यान अन्यत्र मोडि देऊ, आफ्नो दाउ आउँदैन भने भेटघाट, बैठक पनि अल्मल्याऊ, कसैलाई सबैभन्दा माथिको कुर्ची देखाइ देऊ । कसैको घर बिगार्न, मान्छे चोर्न परे पनि पछि नपर । सबै कुरा जानेको जस्तो गर, केही कुरा बिग्रिहाल्यो भने थाहै पाइन भन्न नबिर्स । आप्mनो कुरा जस्तै होस्, मैले भनेको, भर्खरै भनेको, सुन्नु भएन भन्दै मेरा गोरुको बाह्रै टक्का गर्न नछोड । बेलाबेला तिलस्मी कुरा गरिदेऊ ।

मैलै पनि सुरु सुरुमा नक्सलवादी बनेर मन जितेँ । गायत्रीमन्त्र जपेर तमोरमा पौडी खेलेँ, राष्ट्रवादको खोल ओढेर महाकालीलाई अरुको जिम्मा लगाएँ । परिवर्तनका बेला सिन्को नभाँचे पनि, बयलगाढाको यात्राले पाताल पुगिन्न भने पनि, नाकाबन्दीका बेला चर्को चर्को फूर्ति लाउनाले सबैतिर मेरो जयजयकार गरिन थाल्यो । परिणाम स्वरुप आज दुई तिहाईको सृष्टि फलिफाप भएको छ ।

तिमीहरु एक चित्तभई सुन, अब मलाई सपनाका कुरा गर्नु छैन । म मात्र स्वस्थ रहेर हुन्न, सबैलाई स्वस्थर निरोगी नेपाल बनाउनु पनि मेरो कर्तव्य हो । संसारले पत्ता नलगाएको कुरा मैले पत्ता लगाएको छु । मैले भर्खरै पञ्चतत्वको खोज गरेको छु । मेरा पञ्चतत्वमा जल, तेज, पृथ्वी, वायु र आकाश होइन, मेथी, बेसार, अदुवा, ज्वानो र हिमालबाट ठोक्किएर आएको चिसो हावा रहेका छन् । यिनीमध्ये धेरै महत्व बेसारको छ । बेसारको यही महिमाले आज मैले बेसार मुनिको उपाधि पाएको हुँ । म पनि आज सम्म यही बेसारको उपचारले हट्टकट्ट छु । मेरै बेसारको प्रभावले सर्वत्र हरियो हुनुपर्ने वर्षा ऋतु पनि पहेंलो भएको छ । दश अर्बको लगानी बेसारमै सकिएको छ । बेसारकै चमत्कारले दुई तीन जनाबाहेक कोही पनि महामारीले मरेका छैनन् । ती मरेकाहरु प्नि बेसार पानी खाएर हाछ्युँ गर्न नजानेर मरेका हुन् । कोही निमोनियाले होला, कोही पेट दुखेर होला, कोही मुटुका बिरामी थिए होलान् । ती त त्यसै जाने खाले मान्छे हुन्, कोरोनाले त छोएको मात्रै हो । कतिपयले तातो पानीसँग खाने बेसार शरीरमा घसेर बेमौसमको नाटक गर्दैछन् अरे, कतिपयले मेरो यस्तो गम्भीर कुरामा मजाक उडाए अरे । उनीहरुलाई भनीदेऊ घसेको बेसारको कर तिर्ने समय घर्कँदै छ ।

आजलाई एउटा अर्को कुरा सम्मभनूँ, यो सृष्टि बेसारपानीको अदृश्य लीला मात्र हो । यो सबैभोटको गुरु दक्षिणा दिने एकलव्यहरुका निम्ति सिर्जना गरिएको भ्रम हो । उनीहरुलाई भ्रमित तुल्याउनु मेरो धर्म हो । जसरी सपनामा देखिएका अनेकौँ दुखसुखको अनुभव जागा भएपछि केहीपनि रहँदैन, मेरा सपनाहरुको अनुभव पनि त्यस्तै हो ।

हे मुनिहरु, तिमीहरु पनि एकाग्र मनले बेसार पानीखाऊ, भोको दुनियाँ तर्सने गरी हाछ्युँ गर, असार साउनमा मात्र होइन, फाउनसम्म पनि बेसार पानी खाँदै हाछ्युँगर्दै जाऊ । वाफलिन नबिर्स फेरि । अरुले के भन्छन्, त्यसको पछि नलाग ।

कथा सकिएको थिएन, ठिक त्यसैबेला समाचारले भन्दै थियो, आज बेसार पानी खाएर हाछ्युँ नगरेका कारण कोरोना भाग्न नपाउँदा दुई जनाको निधन भएको छ ।

पत्रकारले कति चाँडो थाहा पाएका, बेसार मुनि बोल्दै थिए । अरु सबै प्रतिक्रिया विहीन मुद्रामा बेसार मुनिको अनुहार ट्वाल्ल पर्दै हेरिरहेका थिए ।

(यस कथामा आएका पात्र काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र मानिने छ ।)

प्रतिक्रिया दिनुहोस