१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगामा रेडियोबाट विद्यालय कक्षा, कक्षा ४ र ७ का विद्यार्थीले रेडियो मायादेवी सुन्नुपर्ने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले रेडियोबाट विद्यालय कक्षा सञ्चालन गर्ने भएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जसहित वाणगंगा भित्र रहेका चार वटै रेडियोबाट विद्यालय कक्षा सञ्चालन हुने भएको हो । आइतबार (भोलि)बाट वाणगंगाले विद्यालय कक्षा सञ्चालन गर्न लागेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

कोरोना भाइरसको कारण विगत तीन महिना देखि विद्यालय बन्द रहेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि विगत तीन महिना देखि देशभर लकडाउन घोषणा गरेको छ ।

अधिकांश क्षेत्र असार १ गते खुकुलो पारिए पनि विद्यालय पूर्णतया बन्दको अवस्थामा छन् । यसले विद्यार्थीलाई पढाईमा प्रत्यक्ष असर पुगेको भन्दै रेडियोबाट वाणगंगाले विद्यालय कक्षा शुरु गर्न लागेको हो ।

कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीलाई केन्द्रित गरी आइतबार देखि रेडियोबाट कक्षा सञ्चालन गर्न लागिएको शाखा प्रमुख भट्टराईले बताउनुभयो । नगरका चार वटै रेडियोले एउटै समयमा कक्षागत अनुसार कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

एउटा रेडियोबाट दैनिक साढे तीन घण्टाका दरले कक्षा सञ्चालन हुने र प्रत्येक कक्षाका चार विषयलाई मुख्य प्राथमिकता दिइएको पनि उहाँले बताउनुभयो ।

मुख्यतया कक्षा ४ देखि कक्षा १० सम्मका नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषय रेडियोबाट सुन्न सकिने उहाँको भनाई छ ।

विद्यालय सञ्चालन हुन नसक्दा घरमै रहेका नगरभित्रका करिब १६ हजार विद्यार्थीलाई केन्द्रित गरी रेडियो कक्षा सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा अधिकृत खिमबहादुर जिसीले बताउनुभयो । यो बेला विद्यार्थीलाई सबैभन्दा बढी पहुँचको माध्यम रेडियो ठानेर कक्षा सञ्चालन गर्न लागिएको उहाँले मायादेवीलाई बताउनुभयो ।

घरका सबै अभिभावकलाई आफ्ना नानीबाबुलाई रेडियोबाट आ–आफ्नो कक्षा सुन्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । यसको अनुगमन शिक्षकबाट गराइने र रेडियो कक्षाबाट गृहकार्य पनि दिइने उहाँले बताउनुभयो । गृहकार्यको चेकजाँचका लागि शिक्षकलाई घर घर खटाउने निर्णय भएको जिसीले बताउनुभयो । रेडियो कक्षा विहान ११ बजे देखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुने छ ।

कक्षा ४ र ७ का विषय रेडियो मायादेवीबाट सुन्न सकिने

रेडियोबाट पढाई हुने विद्यालय कक्षा रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट पनि सुन्न सकिने छ । विहान ११ बजेदेखि कक्षा ४ र कक्षा ७ का विद्यार्थीले आ–आफ्नो कक्षा सुन्न सक्नेछन । वाणगंगाले सञ्चालन गरुन्जेल यी दुई कक्षाका विद्यार्थीले मायादेवीको कक्षा लिनुपर्ने छ । यस्तै अन्य तीन रेडियोबाट अरु कक्षाका विद्यार्थीले रेडियो कक्षा लिन सक्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ८ : १३ बजे