५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

थपियो प्रदेश ५ मा कोरोना परीक्षण प्रयोगशाला



बुटवल ।
प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पीसीआर प्रविधिबाट स्वाब परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट मेसिन खरिद गरिएको हो ।

मेसिन राख्न पूर्वाधार निर्माण र सञ्चालनको व्यवस्थापन भने अस्पताल आफैले गरेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालको संयोजकत्वमा १२ जना प्राविधिक प्रयोगशालामा खटिएका छन् । उनीहरूलाई अस्पतालबाटै सेवासुविधा दिइनेछ । ‘सुरुमा दुई चरणमा चलाउँछौं, दैनिक एक सय नमुना परीक्षण गर्नेछौं,’ डा. खनालले भने, ‘माग र आवश्यकता बढ्दै गए थप प्राविधिक व्यवस्थापन गरेर २४ सै घण्टा सेवा दिनेछौं ।’

पीसीआर मेसिनको सामाजिक विकासमन्त्री सुदर्शन बरालले मंगलबार उद्घाटन गरे । यसअघि प्रदेशमा रूपन्देही र बाँकेमा एकरएक र दाङमा दुई गरी चारवटा मेसिनबाट परीक्षण हुँदै आएको थियो । जसबाट दैनिक चार सय स्वाबका नमुना परीक्षण हुने गरेको थियो । बुधबारदेखि दैनिक ५ सय नमुना परीक्षण हुने सामाजिक विकासमन्त्री बरालले बताए ।

प्रदेश सरकारले भैरहवामा रहेको प्रदेश प्रयोगशालामा पनि थप एउटा पीसीआर मेसिन व्यवस्थापन गरेको छ । यूएनडीपीले दिएको उक्त मेसिन परीक्षणका क्रममा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ५ : ४९ बजे