५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

निर्वाचन क्षेत्र विकासको ५५ लाख कोरोना कोषमा



पाल्पा ।
पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५५ लाख रुपैयाँ कोभिड कोषमा रकमान्तर गरेका छन् । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत रिब्दीकोट र बगनासकाली गाउँपालिकामा काम हुन नसकेकाले उक्त कोषमा रकमान्तर गरेका हुन् ।

सांसद पाण्डेयका अनुसार रिब्दीकोट गाउँपालिकाको ३५ र बगनासकाली गाउँपालिकाको कोरोना राहत कोषमा २० लाख जम्मा गरेको हो । सडक कालोपत्रे गर्न विनियोजन गरेको रकम लकडाउनका कारण खर्च नभएपछि कोभिड कोषमा जम्मा गरेको तानसेनमा आयोजित पत्रकार भेटमा सांसद पाण्डेयले बताए । उनले पाल्पा अस्पतालअन्तर्गत स्थापना हुन लागेको पीसीआर मेसिन प्रयोगशाला व्यवस्थापनमा समेत खर्च गर्न सकिने बताए ।

सांसद पाण्डेकै पहलमा पीसीआर मेसिन स्थापनाका लागि काम अघि बढेको छ । उनले पीसीआर मेसिन जिल्लामा रहँदा पाल्पालगायत गुल्मी, अर्घाखाँची र स्याङ्जालाई फाइदा पुग्ने बताए ।

उनले निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामको अनुगमन गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ल्याब विज्ञ तथा संयोजक पुष्प खनालले पीसीआर प्रयोगशाला सञ्चालनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ५ : ५० बजे