२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

यसवर्ष कक्षा ११ को पनि परीक्षा नहुने



काठमाडौं ।
कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यस वर्ष नहुने भएको छ। एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो।
शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो।
कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनुपरेको उनले बताए। ‘यस वर्षको कक्षा ११ को परीक्षा रद्द गरिएको हो। अर्को वर्षदेखि के गर्ने भन्ने पछि छलफल गर्छौं,’ उनले भने।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ। कोरोना महामारी कम भएपछि उक्त परीक्षा हुनेछ। ‘कक्षा १२ को परीक्षा स्थगित गरिएको हो, अनुकूल भएपछि कार्यतालिका निकालेर परीक्षा नै गरिन्छ,’ उनले भने।
कोरोनाका कारण यसअघि एसईई परीक्षा पनि स्थगित भएको थियो। शैक्षिक सत्र २०७६ सालको एसईई परीक्षा पनि विद्यार्थीको आन्तरिक मूल्यांकनबाट गर्न लागिएको हो। त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर विद्यालयका हेडसरको नेतृत्वमा रहेको तीन सदस्यीय समितिले विद्यार्थीको नम्बर दिँदैछन्। असार २९ गतेसम्म एसईईका विद्यार्थीको नम्बर परीक्षा बोर्डमा पठाइसक्नुपर्नेछ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  १ : ०४ बजे