४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रोनाल्डो मार्चपछि गोल गर्न चुक, ६ गोल भएको खेलमा युभेन्टसको बराबरी



एजेन्सी ।

सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले ससुओलोसंग बराबरी खेल्दै अंक बाँडेको छ ।ससुओलोको घरेलु मैदानमा ६ गोल भएको रोमाञ्चक खेलमा युभेन्ट्सले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई समेत युभेन्ट्सले खेलमा जोगाउन सकेन । छैटौ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।

तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९ औं मिनेटमा खेल २–१ मा झारे । डोमनिको बर्दीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याए ।त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए । युभेन्ट्सका एलेक्स सान्ड्राले ६४ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्स पछिल्ला तीन खेलमा जित निकाल्न असफल छ । उसले ९ गोल भने गरेको छ ।क्रिस्टियानो रोनाल्डो सिरि एमा मार्चपछि पहिलो पटक गोल गर्न असफल रहे । अबरुद्ध सिजन पुन सुरु भएपछि उनले ६ खेलमा ७ गोल गरेका थिए ।

मौरिजियो सर्री नेतृत्वको युभेन्ट्स लगातार नवौं पटक सिरि एको उपाधितर्फ उन्मुख देखिएको छ । उसले दोस्रो स्थानको एटलान्टासंग ७ अंकको अग्रता कायम राखेको हो ।शीर्ष स्थानको युभेन्ट्सको ७७ अंक छ । ससुओलो ४७ अंक सहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ९ : ३९ बजे