७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हामी कमजोर टिम भयौं-लिओनल मेसी



एजेन्सी ।
बार्सिलोनाका कप्तान लिओनल मेसीले क्लबको प्रदर्शनमा असन्तुष्टि जनाएका छन्। बिहीबार राति घरेलु मैदानमा बार्सिलोना पराजित भएपछि मेसीले टिम कमजोर बन्दै गएको बताए। यस्तै प्रदर्शन जारी रहे बार्सिलोनाले सिजनको च्याम्पियन्स लिग पनि गुमाउने मेसीले चेतावनी दिएका छन्।

बिहीबार राति बार्सिलोनालाई ओसासुनाले २-१ गोलले हरायो। बार्सिलोनाका लागि मेसीले ६२ मिनेटमा बराबरी गोल फर्काएका थिए।

त्यसअघि ओसासुनाका लागि अर्नाइजले १५ मिनेटमा गोल गरेका थिए। ७७ मिनेटमा गलेगोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको ओसासुनाले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेको थियो। उसका लागि रोबर्टो टोरेसले गोल गर्दै रोमाञ्चक जित दिलाए।

बिहीबार राति नै रियल म्याड्रिडले भिल्लारियललाई २-१ ले पराजित गर्दै ला लिगाको उपाधि जित्यो।

कोरोना भाइरसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियलसँग २ अंकको अग्रता लिएको अवस्था थियो।। तर लिगको अन्तिम खेलअघि उपाधि जितेको रियलले बार्सिलोनालाई ७ अंकले पछि पार्‍यो।

‘हामीले यसरी सिजन अन्त्य गर्न चाहेका थिएनौ। तर अहिलेको अवस्थाले लिग कस्तो भयो देखाउँछ,’ मेसीले ओसासुनासँग पराजित भएपछि प्रतिक्रिया दिएका छन्।

‘हामी धेरै अस्थिर, कमजोर र कम निखारता भएको टिम भयौं। हामीले धेरै अंक गुमायौं र आज सिजनको सारंश हो,’ मेसीको भनाइ छ, ‘हामीले आत्मआलोचना गर्नु पर्छ। हामी बार्सिलोनाका खेलाडी भएकाले हामीले सबै जित्नु पर्छ। हामीले रियल म्याड्रिडलाई हेर्नु हुन्न। किनकी उनीहरुले आफ्नो काम गरेका छन्। तर हामीले उनीहरूलाई सहयोग गरेका छौं।’

मेसीले च्याम्पियन्स लिगमा नापोलीलाई पराजित गर्न टिममा धेरै परिवर्तन गर्नु पर्ने प्रतिक्रिया दिए। उनले भने,ुयदि हामीले च्याम्पियन्स लिगमा जित चाहान्छौ भने हामीले धेरै परिवर्तन गर्नु पर्छ। यस्तै प्रदर्शन जारी राख्यौ भने हामीले नापोलीविरुद्धको खेल पनि हार्नेछौं,’ मेसीले भने।

बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग नापोलीसँग ८ अगस्टमा घरेलु मैदानमा खेल्दैछ। इटालीमा भएको पहिलो लेग १- गोलको बराबरीमा सकिएको थियो।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  ८ : २३ बजे