१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कोरोनाबाट मर्नेको संख्या ४३ पुग्यो, पर्सामा थपिए १७ जना संक्रमित



काठमाण्डौँ ।
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल पुगेका उनलाई त्यहाँबाट मात्र कोभिड अस्पताल रेफर गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

यस्तै पर्सामा थप १७ जना कोरोना सन्क्रमित थपिएका छन्। बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा १७ जनामा कोरोना संक्रमण देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । संक्रमित मध्ये दुईजना डाक्टर, दुईजना अस्पतालमा उपचाररत बिरामी रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा १३ जना पुरूष र चारजना महिला रहेका छन् । संक्रमितहरु १५ देखि ८५ वर्षसम्मका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  १० : ०१ बजे