३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछिको त्रासः कपिलवस्तुमा बैकल्पिक शिक्षण सिकाई पूर्णतया बन्द



दीपा महत, चार नम्बर ।
कोरोना भाइरस (कोभिड–१९) को त्रास कम भएर जनजीवन सहज भैरहेको बेला कपिलवस्तुमा मंगलबार एकाएक ३४ जनामा कोरोना पुष्टि भयो । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित शिवराज नगरपालिकामा झण्डै एक महिना पछि सबैभन्दा बढी कोरानाका विरामी भेटिएका हुन् । जसमध्ये १३ जना समुदायस्तरका थिए । त्यसमध्ये दुई शिक्षक र दुई विद्यार्थी छन् ।

बैशाख अन्तिम हप्ता देखि जिल्लामा देखिन थालेका कोरोनाका विरामी शिक्षक, विद्यार्थी थिएनन् । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी हुँदै बैंकका कर्मचारीसम्ममा भेटिएको कोरोना मंगलबार शिक्षक र विद्यार्थीमा समेत देखियो । यसले जिल्लामा झनै त्रास सिर्जना गरेको छ ।

सरकारले विद्यालय सञ्चालनको अनूमति अझै दिइसकेको छैन् । सबै क्षेत्रको लकडाउन खुकुलो भैरहेका बेला सरकारले विद्यालय सञ्चालनको अनूमति नदिएको हो । तर, जिल्लामा पछिल्लो समय आफुखुसी विद्यालय सञ्चालन गर्न थालेका थिए । लामो समयको लकडाउनले विद्यार्थीको पढाईमा असर पुगेको भन्दै जिल्लाका उत्तरी क्षेत्रका विद्यालय खुसुक्क खुलाइएको थियो । सरकारले जारी गरेको बैकल्पिक शिक्षक सिकाईको नाममा विद्यालयनै खुलेपछि जिल्लामा कोरोना फैलने खतरा थियो । नभन्दै शिवराज नगरपालिकाबाट यसको पुष्टि हुन पुगुको हो ।

शिवराज नगरपालिकामा रहेका विद्यालय पछिल्लो समय खुलाइएको थियो । विद्यार्थीहरु विद्यालय आउन थालेका थिए । विशेष गरी निजी विद्यालयहरु विद्यालय खुल्ने विषयमा अग्रपंक्तिमा थिए । सरकारले बैलल्पिक शिक्षण सिकाईको अवधारणा ल्याउनु र स्थानीय सरकारलाई विद्यालयबाट विद्यालय खुल्ला गर्ने दबाब बढ्नुले अघोषित रुपमा विद्यालय खुलाइएको थियो । यसैको परिणाम स्वरुप विद्यालय र शिक्षकमा कोरोना देखिएको भन्दै आलोचना भएको छ ।

बन्द भए सम्पूर्ण बैलल्पिक शिक्षण सिकाई

यसैबीच विद्यालयस्तरमा कोरोना फैलन थालेपछि जिल्लाका तीन स्थानीय तहले बैलल्पिक शिक्षण सिकाई बन्द गरेका छन् । जिल्लाका उत्तरी क्षेत्रमा अवस्थित वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकाले बैलल्पिक शिक्षण सिकाई बन्द गरेका हुन् ।

बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरबाट अर्को सूचना जारी नहुँदासम्म बैकल्पिक शिक्षण सिकाई बन्द गरिएको बताउनुभयो । सरकारले जारी गरेको मापदण्ड अनुसार गाउँ गाउँ गएर शिक्षकहरुले बैकल्पिक माध्यमबाट शिक्षण दिदै आएको बताउँदै अबदेखि यो कार्य बन्द गरिएको बताउनुभयो । यद्यपि, शिक्षक, कर्मचारीलाई विद्यालयलमा उपस्थित भै प्रशासनिक काम गर्न भने भनिएको उहाँले बताउनुभयो ।

शिवराज नगरपालिकाले पनि नगरमा सञ्चालित सबै शिक्षण सिकाई बन्द गरिएको नि. प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका नगरका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख लोकराज पन्थीले बताउनुभयो । नगरको समुदायस्तरमा कोरोना देखिन थालेकाले बैकल्पिक शिक्षण सिकाईका साथै न्यायिक समितिको कार्यसमेत बन्द गरिएको पन्थीद्धारा जारी सूचनामा उल्लेख छ ।

वाणगंगा नगरपालिकाले पनि रेडियो कक्षा बाहेक अरु सबै बैकल्पिक शिक्षण सिकाई बन्द गरिएको नगरका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । जिल्लामा कोरोना महामारी पुनः बढ्न थालेको भन्दै यसको जोखिम कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म सम्पूर्ण कार्य बन्द गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । साथै शिक्षक कर्मचारीहरुलाई सुरक्षाका सबै विधि अपनाई विद्यालयको दैनिक प्रशासन सञ्चालन तथा अभिलेखीकरण जस्ता कार्यमा सरिक हुन समेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ४ : ३४ बजे