३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

बुटवलको गैरीगाँउ क्षेत्र पहिरोको उच्च जोखिममा



रुपन्देही ।
लगातारको वर्षाले बुटवल उपमहानगरपालिका–४ को गैरीगाँउ क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । वर्षाले लक्ष्मीनगर, गैरीगाउँ र लक्ष्मीपार्क माथिको चुरे पहाड खसेपछि गैरीगाउँको बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

पहिरोले गैरीगाउँका ३ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको सामुदायिक भवनमा सारेको बुटवल–४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले बताए । उनका अनुसार गैरीगाउँका २० घर पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सचेत रहन आग्रह गरिएको छ । पानी बढ्दै गए राति २० घरलाई पनि सामुदायिक भवनमै सार्ने उनले बताए ।

चुरेबाट भेल लिएर आएको सुखौरा खोलाले दर्जन रुख ढालेपछि धार परिवर्तन हुँदा गैरीगाउँ माथि पहिरो खरेको छ । पहिरो खसेको क्षेत्रमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अनुगमन गरेका छन् ।

वडा अध्यक्ष पराजुलीले तत्काल पहिरो नियन्त्रण र खोलाको धार पुरानै बहाव क्षेत्रमा जाने बनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको बताए । खोलाको धार पुरानो क्षेत्रमा फर्काउन नसके गैरीगाउँ हुँदै त्यसले आदर्शनगरलाई समेत असर गर्ने विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ५ : ४१ बजे