रेडियो   टिभी

नेकपा र काँग्रेसको भद्रगोलः शिरमा टोपी छैन, खुट्टामा खोल !


चन्द्रकान्त न्यौपाने ।
अहिले मुलुकका अधिकांश भेगमा बर्षा भएर शितलता प्राप्त भइरहे पनि नेपाल कम्युनिष्ट नामक पार्टी (नेकपा) मा चर्किएको गर्मीले सबैलाई असिनापसिना बनाएको छ । नेकपाका नेता र कार्यकर्ता त एक सय डिग्री सेल्सिएस तापक्रमको रापले सेकिएका छन् भने अन्य जनतालाई पनि त्यो रापले दैनिक सेकीरहेको छ । राजनीतिमा चासो राख्नेहरुका विचार, विमर्श, टिका टिप्पणीले पनि पत्रपत्रिका, अनलाइन, टेलिभिजन, रेडियो र अन्य सामाजिक संजाल रनक्क रन्किएका छन् । जताततै नेकपाकै चर्चा र परिचर्चा छ ।

नेकपा पार्टी फुट्ला कि नफुट्ला ? प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एक पदबाट केपी शर्मा ओली हट्लान् कि पार्टी नै फुटाउलान् ? नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालमध्ये अब को प्रधानमन्त्री बन्लान्, को पार्टी अध्यक्ष बन्लान् ? यसपटक बामदेव गौतमको कोटमा कस्तो चिट्ठा पर्ला ? यस्तै विषयमा नेकपाको चर्चा परिचर्चा भइरहेको छ । यस्तै मुलुकमा जताततै बाढी, पहिरो र डुबानको वितण्डा मच्चिएको छ । यसैको कारण सयौँले ज्यान गुमाइरहेका छन् भने हजारौँ विस्थापित भएको अवस्था छ । राजमार्ग र पुलहरु भत्किएर कतिपय स्थानको सम्बन्ध टुटेको छ भने तराई क्षेत्रहरु डुबानमा परेका छन् ।

अर्कोतर्फ कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण दर फेरि बढिरहेको छ । नेताहरुको अखडा राजधानी काठमाण्डौ, प्रदेश नम्बर दुई र अन्य जिल्लामा कोरोनाको संक्रमणदर बढेपछि आम जनतामा पनि उत्तिकै त्रास सिर्जना भइरहेको छ । यी बिभिन्न स्थिति परिस्थितिबाट मुलुक गुज्रिएको छ । तर सरकार, मन्त्री र नेताको काम गराई तरिका देख्दा उदेक लाग्दो स्थिती छ ।
यस्तो विजोग् अवस्थामा बाढी पहिरोको कहरबाट जनतालाई जोगाउनु, जनधनको क्षति भएर हरिकंगाल बनेका जनतालाई राहत दिनु, विस्थापितलाई उचित स्थानमा ब्यवस्थापन गर्नु सरकारको पहिलो कर्तव्य थियो ।

दोश्रोमा कोरोना महामारीका कारण सिर्जना भएका समस्या र यसको फैलावटलाई रोक्नु, टाँट परेका अर्थब्यवस्था बलियो बनाउने तिर लाग्नु, गुमेका रोजगारीका अवस्था सिर्जना गर्नु, चारचार महिनासम्म बन्द भएर तंक्रिन लागेका उद्योग ब्यवसायलाई माथी उठाउन प्रेरित गर्नु थियो । तर सरकार भने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ उल्टो बाटोमा दौडिरहेको छ ।

अहिले कहाँ कहाँ पहिरो गयो ? कति मरे ? कति विस्थापित भए ? कति राजमार्ग र पुलहरु भत्किए ? कति स्थानको सम्बन्ध बाढी पहिरोले टुटायो ? कोरोना नियन्त्रणमा गरिएको प्रयास कति सफल भयो, भएन ? अब के गर्ने ? यी कुनै कुराको मतलबमा सरकार छैन । केवल मतलब छ त सत्ता कसरी टिकाउने ? को प्रधानमन्त्री बन्ने ? को पार्टी अध्यक्ष बन्ने ? क कसले केके पद पाउने ? कुन नेताले कुन नियुक्ति खाने ? आदि कुराको ।

सरकार चलाउने प्रमुख, मन्त्री र नेताको दिनहुँ वैठक हुन्छ । वैठक कहिले सिंहदरबारमा हुन्छ । कहिले बालुवाटारमा हुन्छ । कहिले खुमलटारमा हुन्छ । कहिले भैँसेपाटीमा हुन्छ त कहिले धुम्बाराही र डल्लुमा । वैठक कहिले एक्लाएक्लै हुन्छन् । कहिले सामुहिक हुन्छन् । कहिले गोप्य हुन्छन् । कहिले खुल्ला हुन्छन् । कहिले कसरी हुन्छन् । कहिले कसरी । नेताको वैठकको कुरा गर्ने हो भने यसको ‘महाकाब्य’ लेखे पनि कम हुन्न ।

मन्त्री र नेता यति धेरै बैठक बस्छन् । तर जनताको पिर मर्काको पक्षमा भने एक शब्द पनि बोलिन्न । संसदलाई बन्धक राखेर मन्त्री र सांसद वैठक बस्दा एक अनुच्छेद पनि जनताको पिरकर्माको बारेमा बोलिन्न । यो अत्यन्तै दुखद र उदेक लाग्ने कुरा हो जनताको लागि ।

सरकार ‘कुहिरोको काग झैँ’ यसरी हराइरहेको छ कि, आफ्नो गन्तव्य नै थाहा पाउन सकेको छैन । जनताको आर्थिक स्तरलाई कति अवधिमा कहाँ पुर्याउन,े कति रोजगारी सिर्जना गर्ने ? कुनै कुराको सरकारलाई ज्ञान छैन । यता प्रतिपक्षी पनि टाङमुनी पुच्छर छिराएर हिँडेको कुकुरजस्तो देखिन्छ । आफ्नै पार्टी इतिहासकै कमजोर स्थितिमा रहँदा पनि मस्तसंग पाउर मारेर बसेको नेपाली काँग्रेस नामक पार्टीलाई सरकारको काम कारबाहीको के मतलब ? सरकारले काम गरेन भनेर यति धेरै आलोचना भइरहँदा प्रमुख प्रतिपक्षी मानिएको काँग्रेससंग जनप्रिय बन्ने यति ठुलो अवसर थियो कि उसले त्यो सबै खेर फालिरहेको छ ।

काँग्रेस पार्टी असारमा जोत्न लागेको गोरुले हरियो मात्रै देख्छ भनेझैँ उसले सधैँभरी हरियो मात्र देखिरहेछ देशमा । देशमा केही पनि बिग्रिएको छैन । एउटा पाइपको विज्ञापनमा महानायक राजेश हमालले ‘नेपाल टप सब ठिकठाक’ भनेझैँ काँग्रेसलाई मुलुकमा जे भइरहेछ सब् ठिकठाक नै भइरहेछ । यता नेकपा अर्थात् कम्युनिष्टलाई पनि मुलुकमा जेजे भइरहेछ ‘नेपाल टप सब ठिकठाक’ जस्तै भएको छ । अर्थात मुलुकमा केही पनि भएको छैन । केही बिग्रिएको छैन ।

‘संसदीय ब्यवस्था’को भासमा ‘मल्टी पार्टी डेमोक्र्याटिक’ सिस्टम अपनाएका विश्वका हरेक मुलुकमा अदलबदल भएर पार्टीहरुले सरकारको नेतृत्व गर्ने अवसर पाउँछन् । यो स्वभाविक हो । तर यही प्रणालीमा यस्तो घिनलाग्दो राजनैतिक खेलको घनचक्कर हुन्छ, जहाँ सरकार बनाइन्छ र तु फ्याँकिन्छ । यसले नेतालाई मन्त्री बनाउँछ तर जनता सधैँ दासी भइरहन्छन् । नेपालजस्तो देशमा जनताले जनताको शासन कहिल्यै अनुभूति गर्न पाउँदैनन् ।’
उटा पार्टीले सरकार चलाउँछ । अर्कोले प्रतिपक्षी बनेर त्यसलाई असफल नपारी हुँदैन । सरकारले राम्रो र जनप्रिय काम गरोस् या नगरोस् कुनै मतलब हुँदैन । केवल मतलब हुन्छ सत्तासिन दललाई कति चाँडो च्यूत गर्ने ? मुलुकले यही संसदीय घनचक्करमा परिक्रमा मारेको दशक बढी भइसक्दा समेत नेताहरुको मगज खुलेको छैन । यसले गर्दा जनतामा चरम निरासा पैदा भएको छ ।

राजा, राणा र पंचायती ब्यवस्था हुँदा जनताले बरु केही पाएका थिए तर लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रमा नेपाली जनताले केही नपाएको गुनासो ब्याप्ता छ ।समयको बेलगामले स्वभाविक रुपमा केही विकास भएजस्तो यी ब्यवस्थामा देखिएला तर तात्विक रुपमा जनताको जीवन स्तरमा भने केही अदलबदल हुन नसकेको निश्चित हो ।

मुलुकको विकासको बाधक राजतन्त्र हो । राजा फालेपछि सबकुछ हुन्छ भनेर वि. सं २०६२।६३ सालमा सबै जनतालाई आन्दोलनको आँधिबेहरीमा समावेश गरेर राजतन्त्र फाल्न तत्कालिन राजनैतिक दल सफल भए । गणतन्त्र ल्याउन सफल भए तर नत नेताले भनेजस्तो चमत्कार भया,े नत जनताले अमन चयन, शान्ति सुरक्षा, सुव्यवस्था र विकास पाए । यस ब्यवस्थामा केवल जनताले पाए भ्रष्टाचार, हत्या, हिँसा, आतंक, अपराध, अन्याय, असुरक्षा र अपमान ।

सर्वहाराबर्गको उन्मुक्तिको लागि सत्ताकब्जा गर्ने सपनामा दश बर्ष जनयुद्ध गरेको तत्कालीन माओबादी १२ बुँदे दिल्ली सम्झौता मार्फत् संसदीय भासमा भासियो । नेपाली काँग्रेस र एमालेहरुको शासनपद्धतीबाट हार खाएका जनताले माओबादीबाट धेरै सपना बुनेका थिए । परिवर्तनको आशा गरेका थिए तर ती जनताका सबै सपना क्षणभरमै चकनाचुर भए ।

गणतन्त्रपछि जनताले पटकपटक माओबादी, काँग्रेस र एमालेलाई चाखे । तर केही पाउन सकेनन् । गणतन्त्रपछि मुलुकले संविधान सभाबाट नेपालको संविधान पनि पायो । तर त्यो संविधानले पनि लगभग अब केही देला भनेर जनताले आशा गर्न छोडि सके । मुलुकमा संघियता आयो । यसलाई पनि जनताले देखि सके ।

पटक पटकका सरकार एक गर्भवती महिलाको भ्रुणजस्तो भयो । ९ महिनासम्म भुँडी बोक्ने र विहाउने बेलामा तुहिने । यसमा पुष्पकमल दाहाल (प्रचण्ड), केपी शर्मा ओली, शेर बहादुर देउवा, स्वर्गीय शुशिल कोइराला, माधव कुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, कोही पनि सफल भएनन् । सबैले भुँडी बोके तर तुहिने रोगले कसैलाई छोडेन । उनीहरुको यो रोगको असर भने जनताले भोग्नु पर्यो । राजनैतिक दलका नेताले निर्दोश नेपाली जनतामाथी गरेका गद्धारीको पाठ धेरै लामो छ । त्यसको कुरा नगरौँ ।

बिभाजनको लामो अन्तरालपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकृत भई नेपाल कम्युनिष्ट पार्टी घोषणा पनि भयो । एकिकरणसँगै नेपाल कम्युनिष्ट पार्टी अब दक्षिण एशिया कै पहिलो ठूलो पार्टी बन्न पुगेको पार्टी एकिकरण घोषणा सभामा नेताहरुले बताए । एकिकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थानीय तह सबैतिर बहुमत ओगट्यो । सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार अहिले छन् ।

तर नेकपाको यो दुई तिहाई केवल संख्यामा मात्र सिमित हुन पुग्यो । यसले जनतालाई कुनै परिणाम दिन सकेन । गुणात्मक परिवर्तनले परिमाणात्मक फड्को मार्छ भन्ने माक्र्सबादी सिद्धान्तमा उल्लेख गरिएको द्धन्द्धात्मक भौतिकबाद पढेर खारिएका प्रचण्ड र ओलीहरुले उल्टोबाटो पकडे । उनीहरु परिमाणबाट गुण खोज्न थालेकाले आजको यो असफलता भोगिरहेका छन् ।

काँग्रेसले त गरेन गरेन, नेकपालाई गर्न थ्रुपै्र अवसर थियो । तर नेकपा काण्डैकाण्डमा जकडियो । कहिले ३३ किलो सुन काण्ड, कहिले निर्मला बलात्कार काण्ड त कहिले सभामुख काण्ड, कहिले ७० करोड काण्ड, कहिले प्रधानन्यायधिश काण्ड, कहिले वाइडबडी काण्ड, कहिले कोरोनामा औषधी काण्ड । काण्डै काण्डको रनभुलमा नेकपा सरकार फस्दा जनताले सुशासन, अमनचयन, विकास, रोजगारी केही पनि पाउन सकेनन् ।

नेपालको राजनीतिमा लामो समयसम्म राज गरेको नेपाली काँग्रेसलाई विगतका चुनावमा चक्मा चखाइदिएर परिमाण बटुले कम्युनिष्टले, तर गुणात्मक हिसाबमा परिवर्तन ल्याउन नसक्दा नेकपा पनि काँग्रेसभन्दा कम असफल रहेन ।

त्यही माथी चोरबाटोबाट सुटुक्क संविधानमा घुसाइएको ‘संघियता’ नामक ब्यवस्थाले जनतामा आशा र निरासाभन्दा केही पनि दिन सकेन । यति सानो देशमा सात सात वटा प्रदेश बने । सबैमा मुख्य मन्त्री र मन्त्री चुनिए । गाउँगाउँमा स्थानीय सरकार आयो तर ती सबै ‘छोटे’ राजाजस्तो भए । जताततै लुटेरा मात्रै । जनप्रतिनिधि र कर्मचारी सबै भ्रष्टाचारी । नेता मन्त्री कमिसनखोरी ।

यस्तो हुँदै हुँदै देश अहिले खोक्रो भएको छ । इतिहासकै गहिरो संकटमा छ । जति कर्मचारी भर्ती गरे पनि कहिँ पनि पुग्दैन । कर्मचारी र मन्त्रीलाई तलब खुवाउन नसकेर अर्थमन्त्री ज्युले दोश्रो र तेश्रो मुलुकमा भीख मागिरहनु भएको छ । मुलक दिनप्रतिदिन ऋणमा चुर्लुम्म डुबेको छ । यस अर्थ ब्यवस्थाले यो सब धान्न लगभग अब सक्दैन । त्यसैले अब तिनै संघियताका हिमायतीहरुलाई संघियता शब्दसंग नै रिस उठ्न थालेको छ । बाहिर बकबकाउन सक्दैनन् तर उनीहरुका हाउभाऊ र भङ्गीले संघियता निल्नु न ओकल्नु भएको छ ।

अब यस्तो पारामा नेकपाबाट के आशा गर्ने ? दुई तिहाइ बहुमत भएको सरकारले ५ बर्षे काम गर्ने म्यान्डेट पायो । यो बीचमा जनपक्षीय काम गर्नको लागि सरकारलाई कसैले रोक्ने सक्ने अवस्था थिएन । भटाभट निर्णय गर्दै काम गर्दै गरेको भए प्रतिपक्षीले विरोध गर्दैमा सरकारको रौँ पनि हल्लने थिएन । तर नेकपा यसमा चुक्यो । नेकपा अझै पनि सुध्रिएन, खाली सत्ता र शक्तिमा कोको जाने खेलमा लाग्यो भने नराम्ररी पछुताउने शिवाए केही पाउने छैन ।

नेकपा विग्रँदैमा काँग्रेसले अवसर पाउला भन्ने लाग्दैन मलाई । किनकी काँग्रेसलाई पनि हिजो जनताले टेस्ट गरिसकेका छन् पटकपटक । आन्तरिक रुपमै गुट उपगुटमा लागेर सम्हालिन नसकी फाटेको काँग्रेसलाई जिताएर अब मुलुकले नयाँ कुरो पाउँछ भन्ने विश्वासमा जनता छैनन् । यी दुवै पार्टीको विकल्प खोजेर नयाँ कुनै त्यस्तो शक्तिले विजयी हासिल गर्ला भन्ने विश्वास जनतालाई झनै छैन । अलि अलि तराईमा आश मधेशबादी दलको हो । तर त्यसले सरकार संचालनमा केही फरक पार्ने बाला छैन ।

केही समय बाबुराम भट्टराईमाथी आश थियो । उनी आफ्नै अभिव्यक्ति र आचरणका कारण यसरी पत्ता साफ भए कि जनता समाजवादी पार्टी (जसपा) बाट पनि अब राजनीतिमा उठ्न गारो छ । कमल थापाले पनि राप्रपालाई समुन्नत तरिकाले अघि बढाउन सकेनन् । पार्टीका नेता सुनिल थापा लगायत जिम्मेवार नेता काँग्रेसमा प्रवेश गरेपछि अध्यक्ष कमल थापाको निद्रा हराम भएको छ । राजतन्त्र र हिन्दूत्वको मुद्धालाई उठाएर थापा आगामी चुनावमा कसरी जान्छन् त्यो अनुमान मै राखौँ ।
अलिअलि जनताले आशा गरेको पार्टी पत्रकार रविन्द्र मिश्रले गठन गरेको साझामा थियो । तर यो पार्टी पनि गुटउपगुट र टुटफुटबाट माथि उठ्न सकेन । अबका चुनावमा त यस पार्टीको नाम निसाना आउने कुनै सम्भावना छैन । किनकि राम्रा मानिसहरु चोइटिएर पाखा लागिसके । क्रान्तिकारी राजनीति रुचाउने युवाहरुको ढुकढुकी बन्न सक्थ्यो विप्लव निकट माओवादी । तर यसको स्थिति र बबुरोपन सबैलाई थाहा भैसक्यो । संघियता विरोधी चित्र बहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चामा मानिसको भावना छ तर मत छैन । त्यसैले पनि यो पार्टीलाई राम्रो मान्दा मान्दै पनि जनताले जिताउँदैनन् । निश्चित छ ।

घुम्दैफिर्दै रुम्झाटार भनेझैँ फेरि पनि धेरै अवसर नेकपा र त्यसपछि काँग्रेसमा छ । नेकपा राजनीतिमा अहिले देखिएको विवाद उत्कर्षमा पुग्यो र फुटिहाल्यो भने त्यसको फाइदा नेपाली काँग्रेस, मधेशबादी दल र राप्रपाले लिन सक्छन् । तर शासन सत्ता र कम्युनिष्टका आनीबानीमा आमूल परिवर्तन गरी सच्चिएर गए भने नेकपालाई अझै पनि ठुलो अवसर छ ।

नेकपा र काँग्रेसको अहिलेको आडम्बडरी र बोक्रे भलाद्मीपना देख्दा शिरमा टोपी छैन , खुट्टामा खोल उखानले भनेजस्तो भएको छ । अर्थात् शिरको लाज छोप्न खुट्टामा खोल लगाउनु पर्ने अवस्थामा अहिलेका प्रधानमन्त्री, मन्त्री, नेता कार्यकता रहेका छन् ।

यति हुँदा पनि यिनी दलहरुको दिमागमा सधैँभरी धमिरा मात्रै लाग्यो र सच्चिएनन् । खाली गद्धारी र भ्रष्टाचार मात्र गरे भने अब आन्दोलनको बलले सबैलाई घुँडा टेकाएर सडकबाट सरकार घोषणा गर्ने स्थितिसम्म जनता पुग्नु पर्दछ । किनकी जनता जनार्दन हुन् । संसार भर भएका परिवर्तन र आन्दोलनले यही सन्देश दिन्छ ।

प्रतिक्रिया दिनुहोस