२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

रोनाल्डोको च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर, तर बनाए किर्तिमानी



एजेन्सी ।
युभेन्ट्सलाई निराश बनाउँदै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो ।दोस्रो लेगमा समेत लियोनले सुरुवातमै गोल गर्दै युभेन्ट्ससामु ठुलो चुनौती तेर्साएको थियो । क्वार्टरफाईनल पुग्न युभेन्ट्सलाई कम्तिमा ३ गोल आवश्यक देखिएको थियो । तर रोनाल्डोले दुई गोल गरेपनि टोलीलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।

मेम्फिस डिपेले १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाएका थिए ।रोनाल्डोको पेनाल्टी गोलसंगै युभेन्ट्स खेलमा फर्किएको थियो । ४३ औं मिनेटमा डिपेको ह्याण्ड बलमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । तर दुवै पक्षबाट थप गोल हुन नसकेपछि खेल लियोनको पक्षमा गएको हो ।सिरि ए लिग विजेता युभेन्ट्स यस सिजन समेत च्याम्पियन्स लिगमा अघि बढ्न सकेन । ईटालीबाट च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित युभेन्ट्स आएका रोनाल्डो दोस्रो सिजन समेत निराश भए ।

उनले युभेन्ट्सबाट लगातार दुई सिजन घरेलु लिग जितेपछि च्याम्पियन्स लिगमा असफल बन्न पुगेका छन् । शुक्रबार राति दुई गोल गरेका रोनाल्डोले युभेन्ट्सबाट एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने कायम गरेका छन् ।

युभेन्ट्सले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । पुन सिरि ए च्याम्पियनले अर्को सिजन उपाधिका लागि थप प्रतिक्षा गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ८ : १५ बजे