८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पीएसजी जाने सोच बनाउँदै रोनाल्डो, किन्ला क्लबले ?



एजेन्सी ।
युभेन्टस क्लब च्याम्पियन्स लीगबाट छिट्टै बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले पीएसजी जान मन गरेको बताइएको छ । तर पीएसजीले रोनाल्डो किन्ला र ?

लियोनविरुद्ध प्रिक्वार्टरफाइनलको खेल हारेर बाहिरिएपछि युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ । उनले जम्मा एक सीजन क्लब चलाए ।

उनको प्रशिक्षणमा युभेन्टसले इटालियन सेरी आ उपाधि जित्यो । तर च्याम्पियन्स लीगमा क्लबलाई अघि बढाउन नसकेपछि उनलाई फालिएको हो ।

त्यसो त रोनाल्डोलाई पनि च्याम्पियन्स लीग जिताउनका लागि महंगो पैसा तिरेर भित्र्याइएको हो । रोनाल्डोले पाँचपटक च्याम्पियन्स लीग जितेका छन् ।

अघिल्लो सीजनमा उनले प्रिक्वार्टरफाइनलको दोस्रो चरणमा एट्लेटिको मड्रिडविरुद्ध ह्याटट्रिक गरेर टीमलाई क्वार्टरफाइनल पुर्‍याएका थिए तर आयाक्सले उनीहरूलाई अघि बढ्न दिएको थिएन ।

उनले शुक्रवार लियोनविरुद्ध दुई गोल गरे पनि खेर गयो । समग्रमा लियोन नै गोलअन्तरमा अघि रह्यो र क्वार्टरफाइनल पुग्यो ।

युभेन्टस लज्जास्पद रूपमा प्रतियोगिताबाट चाँडै बाहिरिएपछि सार्रीको ठाउँमा आन्द्रिया पिर्लोलाई ल्याइएको छ । उनीसँग क्लब व्यवस्थापनको गतिलो अनुभव छैन ।

त्यसो त रोनाल्डोले यस सीजनमा युभेन्टसका लागि सबै प्रतियोगितामा गरी ३७ गोल गरेका छन् ।

फ्रान्सेली पत्रिका फूट मर्काटोले दाबी गरेअनुसार, रोनाल्डोका एजेन्ट जोर्गे मन्डेसले पीएसजीका निर्देशक लियोनार्दोसँग कुरा गरेको दाबी गरेको छ । बुधवार पीएसजीले एट्लान्टाविरुद्ध क्वार्टरफाइनल खेल्दा मेन्डेसले आफ्नो कुरा फेरि राख्न सक्ने बताइएको छ ।

युभेन्टसलाई जस्तै पीएसजीलाई पनि च्याम्पियन्स लीग जित्ने ठूलो धोको छ । तर निकै मोटो रकम खर्चेर बार्सिलोनाबाट भित्र्याइएका नेयमारले पीएसजीलाई च्याम्पियन्स लीग दिलाउन नसकेकाले रोनाल्डोमा फेरि मोटो रकम खन्याउन पीएसजी अनिच्छुक रहेको बताइन्छ ।

त्यसैले फ्रान्सेली पत्रिका र वेबसाइटले पीएसजीमा रोनाल्डो आउने कुरा छापेर आफ्नो साइटमा भिजिटर बढाउने उद्देश्य मात्र लिएको देखिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ३ : १३ बजे