९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

दाङमा साँझ हिँडडुल गर्न पनि नपाइने, तीजकेन्द्रित नाचगानसमेत निशेध



दाङ ।

भदौ १ गतेदेखि लागू हुनेगरी दाङमा बेलुका सात बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म सवारी साधन चलाउन तथा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले तीजको अवसरमा भेला भएर नाचगान गर्न र मन्दिरहरुमा जान समेत प्रतिवन्ध लगाउने निर्णय भएको बताउनु भयो ।

समुदायबाट जिल्लामा पुरै लकडाउन वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव आए पनि त्यो भन्दा कम नहुने गरी बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म कोही पनि हिँडडुल गर्न नपाउने गरी निर्णय गरिएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले तीजमा हुन सक्ने संभावित घटनाहरुलाई समेत मध्यनजर गर्दै यस्तो निर्णय भएको बताउनु भयो । यातायातका साधनमा तोकेको भन्दा बढी यात्रु राखेर सञ्चालन गर्न नदिने निर्णय समेत बैठकले गरेको एसपी चन्दले जानकारी दिए।

नारीहरुको महान चाड तीजमा अघिल्ला वर्षजस्तो सार्वजनिक स्थल वा मन्दिरहरुमा भेला हुन र नाचगान गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो । संभावित कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधारण सबैलाई सजग र सचेत रहन आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ३ : ४२ बजे