२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

१५ वर्षपछि रोनाल्डो र मेस्सीविना च्याम्पियन्स लिगको सेमिफाइनल



एजेन्सी ।

आधुनिक फुटबलका हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैजना १५ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् । रोनाल्डोको टोली प्रि–क्वाटरफाइनलबाट तथा मेस्सीको बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएपछि सन् २००५ पछि पहिलोपटक मेस्सी वा रोनाल्डो च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका हुन् ।

पछिल्लो १५ वर्ष च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको दबदबा हेरिरहेका दर्शक यो सिजनमा सेमिफाइनलदेखि नै उनीहरुलाई देख्न पाउने छैनन् । २००४–०५ को सिजनमा मेस्सीले करियर सुरु गर्दा बार्सिलोना चेल्सीसँग प्रि–क्वाटरफाइनलमा तथा त्यतिबेला रोनाल्डोको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एसी मिलानसँग प्रि–क्वाटरफाइनलमा पराजित भएको थियो ।

त्यसपछि यी दुई खेलाडी लगातार रुपमा च्याम्पियन्स लिगको कुनै न कुनै संस्करणका सेमिफाइनलसम्म पुगिरेहका हुन्थे । तर, अब दुवै खेलाडी पहिलोपटक सेमिफाइनलमा नदेखिने भएका हुन् ।यो १५ वर्षको अवधिमा मेस्सीले चारपटक तथा रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यससँगै अब ३३ वर्षे मेस्सी र ३५ वर्षे रोनाल्डोको युग सकिदै गएको फुटबल विश्लेषकले अनुमान लगाएका छन् । सन् २०१८ मा लुका मोड्रीचले ब्यालोन डी’ओर जित्दै मेस्सी र रोनाल्डोको दशक लामो वर्चस्वमा पूर्णविराम लगाएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  १२ : ०७ बजे