२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

सन्दीपले खेल्ने सीपीएल आजदेखि सुरु



काठमाण्डौ ।

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति पौने आठ बजेपछि सीपीएल सुरु हुनेछ ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति पौने आठ बजे खेल्ने छन् । सन्दीप आबद्ध जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ ।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सन्दीपले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताएका छन् ।

सन्दीप गएको साउन १५ गते कोरियन एअरको चार्टर्ड जहाजमा सीपीएल खेल्न टोबागो गएका हुन् । यसैबीच नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा सन्दीपको रिपोर्ट नेगेटिभ आएको थियो । त्यो रिपोर्टसँगै सन्दीप सीपीएल खेल्न योग्य ठहरिएका हुन् ।

यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएल भदौ २५ गतेसम्म चल्ने छ । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् ।

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल बुधबार बिहान सबा तीन बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७७ मंगलबार ००:००  २ : २९ बजे