७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

च्याम्पियन्स लिग उपाधि भिडन्त आजः पिएसजिलाई इतिहास रच्ने मौका



एजेन्सी ।

युरोपेली फुटबलकै प्रतिष्ठित प्रतिस्पर्धा च्याम्पियन्स लिग फुटवलको उपाधि भीडन्त आज हुँदै छ । आज आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) भीँड्न लागेका हुन् ।

बायर्न ११ औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएको कारण दुवैके लागि यो खेल निकै महत्वपूर्ण छ बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । यस्तोमा पीएसजी पहिलोपटक च्याम्पियन बनी इतिहास रच्ने दाउमा हुने छ भने बायर्न छैटौपटक च्याम्पियन बन्ने योजनामा छ ।

दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधिको बलियो दावेदार बायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ । यसक्रममा बायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको छ । यसक्रममा बायर्नले १५८ गोल गर्दा ५० गोल खाएको छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा २ गोलले पछि छन् । आज २ गोल गरेमा रोनाल्डोसंगको किर्तमानी बराबरी हुने छ भने १ गोल बने रोनाल्डोको दुर्लभ गोल रेकर्ड तोडिने छ ।
पीएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । बायर्नसँग थोमस मुलर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, म्यानुयल नुएर, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।

यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पीएसजी सिजनको पाँचौ उपाधि जित्दै च्याम्पियन्स लिगम जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो । पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पीएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, थियागो सिल्भा, पाब्लो साराविया, एन्डर हरेरा, जुलियन ड्राक्सलर, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरु रहेका छन् ।

बायर्न र पीएसजीको पछिल्लो तीन खेलमा बायर्न दुई पटक तथा पीएसजी एकपटक विजयी भएको छ । यि दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स कपमा भिडेका थिए । जसमा बायर्न ३–१ ले विजयी भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा बायर्नले ३–१ ले जित्दा पीएसजीले पनि ३–० को जित निकालेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ७ : २२ बजे