७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

महिला क्रिकेट टोलीको कोरोना बिमा यसै साता हुने



काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसै साताभित्र राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले महिला टोलीको पनि कोरोना बिमा गर्ने जनाएको छ ।

बिमाका लागि खेलाडीको नागरिकता जम्मा गर्ने काम भइरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बाह्रखरीलाई जानकारी दिए । उनले सबै महिला खेलाडी सम्पर्कमा नभएका कारण केही ढिलो भएको बताए । “हामीले महिला टोलीको पनि कोरोना बिमा गर्ने भनेका छौं । महिला र पुरुष भनेर विभेद गरेका छैनौ,” अध्यक्ष चन्दले भने, “सम्भवतस् एक-दुई दिनभित्रै हुनेछ । ढिलो भए यो साताभित्र महिला क्रिकेटरको पनि कोरोना बिमा सकिन्छ । पुरुष खेलाडी प्रायः काठमाडौं र सम्पर्कमा रहेकाले उनीहरुको छिटो भएको हो ।”

१८ महिला खेलाडीको कोरोना बिमा गरिनेछ । पछिल्लोपटक गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अन्तिम १८ सदस्यीय टोलीमा परेका खेलाडीको बिमा गरिने क्यान अध्यक्ष चन्दले जानकारी दिए । उनले क्यान कार्यालय बन्द भए पनि घरबाटै सबै काम भइरहेको जानकारी दिए ।

घरेलु प्रतियोगिता शून्य जस्तै हुने महिला क्रिकेटर टोलीले पछिल्लोपटक १३औं साग खेलेको थियो । १३औं सागमा नेपाल तेस्रो भएको थियो । क्यानले शनिबार राष्ट्रिय पुरुष टोलीका खेलाडीको कोरोना बिमा गरेको जनाएको थियो । क्यानले २५ खेलाडीसहित ग्राउन्ड स्टाफ र कार्यालय कर्मचारी गरी ५१ जनको कोरोना बिमा गरेको जनाएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  १२ : ५६ बजे