१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

अर्घाखाँचीमा निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बियो



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यस अघि भदौ ३ देखि १० गते बुधबारसम्म निषेधाज्ञा थियो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म , डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।

पछिल्लो समय जिल्लामा दुई स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अर्घाखाँची अस्पतालमा सोमबारदेखि आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत प्रमुखसहित ५ जना डाक्टर र २३ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नआउँदासम्म उनीहरु होम आइसोलेसनमा बसेका छन् ।

यसैबीच प्रमुख संक्रमित भएको कार्यालय पनि ७ जना कर्मचारीको पीसीआर रिपोर्ट नआउँदासम्म बन्द गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने जोकोही माथि पनि कानुन अनुसार कारबाही गरिने र अनुगमनलाई कडाइ पार्नका लागि सदरमुकाम बजार र गाउँमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ९ : ५४ बजे