२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

‘लकडाउन’ मा देखिएको लोभको दुलो, कुनै सानो कुनै ठुलो !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
एउटा बजारमा २ जना किसानले दुध बेच्न ल्याउने गर्दथे । ती थिए सावित्रा र पदम । गाउँबाट दूध बेच्नको लागि उनीहरु सवेरैै बजार झर्थे । दुवै जनाका गाई बराबर नै थिए । तर पदमले सावित्राले भन्दा धेरै दूध बेच्ने गर्दथ्यो । उत्ति नै गाई भए पनि पदमले कसरी आफूलेभन्दा धेरै घरमा दूध पुर्याउँथ्यो । सावित्रालाई शंका लाग्न थाल्यो । उनी त्यही शंकामा मुर्मिरिन थालिन् ।

सावित्राले पदमको चियोचर्चो गर्न थालीन् । उनले थाहा पाइन् कि पदमले दूधमा पानी मिलाउने रहेछ । त्यसैले उसले धेरै दूध बेच्ने रहेछ । त्यसपछि सावित्राले पनि दूधमा पानी राखेर पहिलेको भन्दा धेरै बेच्न थालिन् । अब उनले पहिलेभन्दा धेरै नै दूध बेच्न सकिन्् । यसकारण ऊनी पछिल्ला केही दंग परिरहन्थिन् । अब उनले पहिलेभन्दा आम्दानी पनि गर्न थालिन् । सावित्रामा लोभ बढ्दै गयो । उनले विस्तारै पानीको मात्रा बढाउन थालिन्, कि अब दूधमा दूधकोभन्दा पानीको मात्रा धेरै हुन थाल्यो ।

अब मान्छेले सावित्राको दूध किन्न छाडे । पदमले दूधमा पानीको मात्रा बढाएको थिए । त्यसैले ग्राहकले सावित्राको दूध छोडेर पदमको दूध नै खरिद गर्न थाले । सावित्राको आम्दानी सुक्न थाल्यो । पदमले भन्दा आफ्ना ग्राहक बढेपछि गाई थपे र आम्दानी पनि झन् बढ्यो । हेर्दाहेर्दै पदमले काम गर्नेहरुसमेत राखेर गाईपालन गर्दै दूध घ्यूको ब्यापार गर्न थाले । यता सावित्रा जहिँको त्यहीँ भइनर्् । विस्तारै कोही कसैले पनि सावित्राको दूध खरिद गरेनन् । उनी यसरी टाँट हुँदै गइन् कि पछि लगानी पनि खेर गयो ।

यस लघु कथाको सारांसले मानिसले लोभ गर्नु हुँदैन भन्ने सन्देश दिन्छ । लाभेले सिमा नाघ्दै गयो भने त्यो मानिसको हालत पनि कथाकी पात्र सावित्राको जस्तै हुन्छ !

कोरोना महामारीको समयमा लकडाउन भएको अवस्थामा बजारमा देखिएका केही लोभी दृश्यहरुको कारण मैले यो प्रसङ्ग निकालेको हुँ । यहाँ सबैलाई थाहा छ कि कोरोनाले गर्दा विश्व अर्थतन्त्र पुरै तहसनहस भएको छ । कोरोना नियन्त्रणमा भएको लकडाउन र निशेधाज्ञाले गर्दा कृषि, उद्योग ब्यापार, ब्यवसाय ठप्प छन् । यो हाम्रो बाध्यता र कोरोना फैलावटलाई नियन्त्रण गर्ने एक मात्र उपाय हो । तर पनि बजारमा यस्ता केही चरित्र देखिन्छन् कि लकडाउन र निशेधाज्ञाको उलङ्घन गर्दै लोभको भ्वाङ देखाएर बसिरहेका छन् । अत्यावश्यक बाहेकका बजारका अरु सबै सटर बन्द भएको अवस्थामा केही ब्यापारीहरु यसरी ग्राहक कुरेर एकाछेउमा बसिरहेका हुन्छन् जसरी कुकरले एक हड्डी कुरेर बसिररहेको हुन्छ ।

केहीदिन अगाडी म बुटवलमा काम विशेषले जानु पर्ने भएर गएँ । त्यहाँ पनि सटरको चोर दुलो बनाएर केही ब्यापारी विरालोले मुसो ढुके जसरी ढुकेर बसेको पाएँ । कतिखेर ग्राहक आइहाल्छ र महंगोमा आफ्नो सामान फुत्काइ हाल्न पाइन्छ भन्ने मनोदशाले ती ब्यापारी सटरको सानो दुलो बनाएर विहानदेखि साँझसम्म कुरिरहेको हुन्छन् ।

उनीहरुलाई कोरोना रोग कस्तो रोग हो ? यो कसरी सर्छ ? यसबारे कुनै मतलब छैन । केवल मतलव छ त कसरी पैसा कुम्ल्याउने ? कसरी मौकाको फाइदा उठाउने । हुन त यो लकडाउन र निशेधाज्ञा जारी भएका सबै जिल्ला र सहरको समस्या हो । तर पनि कपिलवस्तु र रुपन्देही जिल्लाका मुख्य सहरहरु बुटवल, तामनगर, मुर्गिया, सालझण्डी, चार नम्बर, तौलिहवा, बनगाई, चन्द्रौटा, कृष्णनगर लगायतका क्षेत्रका बजारमा बन्दको समयमा पनि आफ्नो पसल रहेको सटरमा अलिकति खोलेर सानो दुलो पारी ब्यापारी लुकेर बसिरहेको पाइएको छ । लगभग् धेरै ठाउँमा यस्तो खालको दृश्यहरु देख्दा मेरो मानिसको लोभिनीपापिनी प्रवृति कुन हदसम्म जकडिएर बसेको रहेछ भन्ने कुरा प्रष्टसंग बुझ्न पाएँ ।

अहिले समुदायस्तरमा कोरोना फैलिएर मानिसको होसहवास उडेको छ । मानिस घरभित्रै ‘तैँ चुप, मैँ चुप’ को अवस्थामा छन् । दुख गरेर खाने मजदुर किसान पनि नुनको ढिका र सिन्कीको भरमा भान्छा चलाइरहेका छन् । समाजका निमुखा वर्गलाई पनि अहिले अरु कामभन्दा भन्दा कोरोनाबाटै बच्नैको पीर छ । तर केही लोभी ब्यापारी वर्ग । जससंग अथाह पैसा छ । घर छ । जग्गा जमिन छ । यस्तो अवस्थामा लोभको तीख्रा मेटिएको छैन र सबै ओल्तिर, पल्तिरका सबै सटर बन्द भए पनि लाज पचाएर सटरको सानो दुलो बनाएर ग्राहक कुरिरहेका हुन्छन् । त्यस दुलोभित्रको ब्यापारले उनीहरुले कति पैसो कमाउलान् मलाई थाहा छैन तर एक दिन कोरोना भन्ने रोग आफ्नै शरीर, परिवार र समाजमा सल्काउँछन् यो ढुक्कसंग भन्न सक्दछु ।

आफ्नो पसलमा ग्राहक आउँदा, कस्ता खालका आउने हुन् ? कहाँबाट आउछन् ? मास्क लगाएका छन्, छैनन् पुरै वेवास्ता गरी सामाजिक दुरी समेतर कायम नगरीकन ब्यापारी लक डाउनमा पनि महंगोमा सामान बेच्न लालयित छन्, सटरको सानो मुख खोलेर । यसरी ब्यापार गर्दा उनीहरुलाई मनग्यै फाइदा होला । तर उनीहरुले लोभसंग ब्यापार साट्दा बोकेर आएको कोरोनाले अरु कसैलाई सल्काइरहेका छन् भने त्यसको जिम्मा कसले लिने ? अन्य बेला ब्यापारीहरुले कमाउनै पर्दछ । यसमा कुनै दुई मत छैन । तर राज्यले बनाएका नीति नियमको उलङ्घन गरेर किन यो जोखिम मोल्न खोजेका होलान् भित्रि कुरा हामी केही भन्न सक्दैनौँ । माथिका सबै दृश्यहरु लकडाउनको समयमा बुटवल र कपिलवस्तुका राजमार्ग छेउमा कैद गरिएका दृश्य हुन् ।

कोरोनाले मानिसलाई यस्तो बनाएको छ कि, नयाँ मानिस देख्ने वित्तिकै होओस् अथवा पाहुना बनी कहिँ जादा या आफ्नो घरमा कोही पाहुना आउँदा पनि स्वागत, सत्कार सबैलाई विर्सनु परेको छ । यस्तो अवस्थामा त्यो लोभ नगरेको राम्रो । लकडाउन उलङ्घन गर्ने केही पसलधनीलाई केहीदिन अघि कपिलवस्तुको बाणगंगामा डण्डा नै बजारेर प्रहरीले खेद्नू पर्यो । पैसाको लोभमा ब्यापारीलाई त्यो लज्जाबोध हुन आवश्यक थियो र ?

यो लोभको रंगिन दुनियाँमा भासिएर तिनीहरुले आफैलाई जोखिममा राखेका छन् जसरी सावित्राले पदमको देखासिकी गरेर अन्ततः जीवनभर नउठ्ने गरी टाँट पल्टिइन् । जबसम्म आफू र आफ्नो परिवारलाई कोरोनाले आक्रमण गरेर तहसनहस बनाउँछ तबसम्म उनीहरु ब्यापार चलेकै मन पराउँछन् । त्यसैले यस प्रकारको लोभ नगरौँ । यसो गर्दा तपाईको ब्यापार बढ्ला तर समय भने विषम छ । यो लोभले तपाई आफू, परिवार र समाजलाई जोखिममा पारिरहनु भएको छ । त्यति मात्र होइन राज्यले बनाएका नियम नमान्ने नागरिकको लिस्टमा आफूलाई दर्ज गरिरहनु भएको छ । छिमेकीले खोल्यो भनेर लोभले तपाईलाई कुतककुताएर पसल खोल्न भएन । उसले गरेको नराम्रो काम तपाइँले पछ्याउने होइन राम्रो कामको सिको गरौँ ।

लोभले मानिसलाई पथभ्रष्ट बनाउँछ । मिहिनेत र चोखो कमाईको सिमा नाघेर मानिस जब लोभको आकाशमा उड्न थाल्दछ । त्यसपछि जर्वजस्त, अन्र्तघात, घुस, बलात्कार, हत्या, हिंसा चोरी, लुटपाट बढ्न थाल्छन् । त्यसपछि ब्यक्ति स्वयम् पतित त हुन्छ नै त्यसले परिवार र समाजको स्वरुप नै बदलीदिन्छ । त्यसैले लोभको घनचक्करमा नलागौँ ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  १ : ०१ बजे