१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

शिक्षकहरुका लागि स्टीम एजुकेशन तालिम संचालन



कपिलवस्तु । शिक्षकहरूको क्षमता विकाससँगै आधुनिक शिक्षण पद्धतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्टीम (STEAM) शिक्षा सम्बन्धी तालिम वाणगंगा नगरपालिकामा सुरु गरिएको छ। वैशाख १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त तालिममा ५ विद्यालयका १५ जना शिक्षकहरूको सहभागिता रहेको छ।

नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का विद्यालयलाई लक्षित गरी आयोजना गरिएको तालिममा राम आधारभूत विद्यालय, जनज्योति माध्यमिक विद्यालय, जनचेतना आधारभूत विद्यालय, सुर्योदय आधारभूत विद्यालय र वाणगंगा माध्यमिक विद्यालयका शिक्षकहरू सहभागी भएका छन्।

तालिमको सहजीकरण स्टीम एजुकेशन प्रोग्रामका विज्ञ डिलाराम खनालले गरिरहनुभएको छ। स्टीम (Science, Technology, Engineering, Art and Mathematics) कार्यक्रमले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गर्दै विद्यार्थीमा सिर्जनात्मकता, आलोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमता विकास गर्न जोड दिने आधुनिक शिक्षण पद्धति हो। यस कार्यक्रममार्फत सिकाइलाई व्यवहारिक, रोचक र जीवनोपयोगी बनाउने प्रयास गरिन्छ।

उद्घाटन कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कोषाध्यक्ष ध्रुव बेल्वासेले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम प्रबन्धक आरटी खानले तालिमको उद्देश्यबारे जानकारी दिँदै शिक्षकहरूको क्षमता अभिवृद्धिमार्फत कक्षाकोठा शिक्षणलाई प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्य रहेको बताउनुभयो।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, वाणगंगा नगरपालिकाको समन्वय तथा स्टोम फाउन्डेशनको सहयोगमा ‘विलिफ’ कार्यक्रम अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रम अधिकृत मञ्जु भट्टराईका अनुसार तालिममार्फत शिक्षकहरूलाई व्यवहारिक, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउन सक्षम बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३ सोमबार ००:००  १० : २४ बजे