११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

महाराजगंज र विजयनगर पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमा



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला खोप समन्वय समिति कपिलवस्तुको संयोजक बाबुराम आचार्यको नेतृत्वमा दुवै पालिकामा घरधुरी सर्वेक्षण तथा भेरिफिकेसन सम्पन्न गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप कार्यक्रमसम्बन्धी निर्देशिका अनुसार गरिएको सर्वेक्षणमा दुबै पालिकाका सबै बालबालिकाले तोकिएको उमेरअनुसारका खोप प्राप्त गरेको पुष्टि भएको संयोजक आचार्यले जानकारी दिनुभयो। उहाँले समाजमा अझै केही गलत धारणा र परम्परागत सोचका कारण खोप नलगाउने प्रवृत्ति देखिएकाले स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाले थप सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि मात्र कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिनेछ।

महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले नगरपालिकालाई यही बैशाख १७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने बताउँदै सहयोग गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यस्तै विजयनगर गाउँपालिकामा पनि विभिन्न वडामा पुगेर गरिएको सर्वेक्षण तथा भेरिफिकेसनका क्रममा सबै बालबालिकाले खोप लगाएको पाइएको छ। यसअघि जिल्लाको बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप निर्देशिका अनुसार कुनै पनि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न तोकिएका मापदण्डहरू पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकाअनुसार ०–२३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको हुनुपर्ने, खोप छुटेका वा ड्रपआउट बालबालिकाको संख्या शून्य वा न्यूनतम हुनुपर्ने तथा घरधुरी सर्वेक्षणमार्फत वास्तविक अवस्था प्रमाणीकरण गरिएको हुनुपर्ने उल्लेख छ।


यसैगरी, प्रत्येक स्वास्थ्य संस्थामा खोप सेवा नियमित रूपमा सञ्चालन भएको, खोपसम्बन्धी अभिलेख ९रजिस्टर तथा कार्ड० पूर्ण र अद्यावधिक रहेको, समुदायमा खोपप्रति सकारात्मक धारणा विकास भएको तथा अनुगमन, मूल्यांकन र सुपरिवेक्षण नियमित रूपमा गरिएको हुनुपर्ने पनि अनिवार्य मापदण्डका रूपमा राखिएको छ।


महाराजगंज नगरपालिकामा गरिएको अनुगमनमा जिल्ला खोप समन्वय समिति संयोजक बाबुराम आचार्य, जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मी, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी, समन्वय अधिकारी जनार्दन अधिकारी, डब्लुएचओका खोप प्रतिनिधि मो। असलम शेख, जिल्ला खोप फोकल पर्सन केदारनाथ शाह, जनस्वास्थ्य अधिकृत हंसराज दौल्याल तथा पत्रकार महासंघका प्रतिनिधि दिपा महतलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ११ बैशाख २०८३ शुक्रबार ००:००  ९ : ५६ बजे