चन्द्राैटा । कपिलवस्तुको शिवराज नगरपालिकामा शिक्षकहरूको क्षमता विकासमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिएको छ। शिवराज नगरपालिकाको सहकार्यमा एक्सनएड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुको साझेदारीमा नगरपालिका भित्रका तीन वटा वडामा शिक्षक क्षमता विकास तालिम तथा शैक्षिक सहयोगका गतिविधि सञ्चालन भइरहेका छन्।
साेही अवसरमा एलआरपी (LRP) कार्यक्रम अन्तर्गत शिक्षकहरूका लागि नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा आधारित एकीकृत पाठ्यक्रम, साक्षरता तथा संख्यात्मक सीप विकास सम्बन्धी तालिम सञ्चालन गरिएको थियो।
तालिमका क्रममा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विकले पालिकाले शिक्षाको क्षेत्रमा सघन रूपमा काम गरिरहेकाले त्यसको सकारात्मक उपलब्धि देखिन थालेको बताउनुभयो। उहाँले शिक्षकहरूले समयानुकूल आफूलाई परिमार्जन गर्दै पठनपाठनमा केन्द्रित भई शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै, तालिममा सिकेका कुराको व्यवहारिक कार्यान्वयन गरी बालबालिकाको सिकाइ उपलब्धि बढाउन सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो।
उहाँले शिवराज नगरपालिकाले निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन गरिसकेको बताउँदै यस अभियानलाई सफल बनाउन सबै विद्यालयले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। शिक्षाको गुणस्तर सुधारमा सहयोग र सहकार्य गर्ने संघ–संस्थाप्रति उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व सचिव हरि अधिकारीले शिवराज नगरपालिकामा गरिएको लगानीअनुसार सकारात्मक नतिजा देखिन थालेको बताउनुभयो। उहाँले अब पठनपाठनको विधि र शैलीमा परिवर्तन गरी विद्यार्थीको सिकाइप्रति रुचि अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याउनुभयो।
स्थानीय अधिकार कार्यक्रम (LRP) अन्तर्गत आयोजित पाँचदिने एकीकृत पाठ्यक्रम, साक्षरता तथा संख्यात्मक सीप विकास तालिमले विद्यार्थीकाे सिकाइ उपलब्धिमा थप सुधार ल्याउने सहजकर्ता शिक्षक हेमराज शर्माले विश्वास व्यक्त गर्नुभयाे ।
वैशाख ११ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त तालिममा शिवराज नगरपालिकाका वडा नं. ४, १० र ११ का विद्यालयका ३० जना शिक्षकहरूको सहभागिता रहेको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनुभयो।







प्रतिक्रिया