मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ कै पहिलो न्यूरो तथा विशेषज्ञ सेवा प्रदान गर्ने तिनाउ इन्टरनेश्नल हस्पिटलमा कुनै कोरोना संक्रमणको त्रास नरहेको अस्पतालले जनाएको छ । केही दिन अघि अस्पतालमा एपेन्डिसाइडको अप्रेसन गर्न आएका एक महिलामा अप्रेसन लगत्तै कोरोना देखिए पनि अस्पतालका कुनै कर्मचारी र डाक्टरमा कोरोना नभएपछि अस्पताल पूर्ण सुरक्षित रहेको निर्देशक राजेन्द्र संजेल क्षेत्रीले मायादेवी अनलाइनलाई जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, “अप्रेसन गर्ने एक जना विरामीमा लगत्तै कोरोना पुष्टि भएपछि एक प्रकारको त्रास समुदायमा थियो, तर अहिले हटेको छ।” कोरोना देखिए लगत्तै चिकित्सक, कर्मचारी पनि आइसोलेट भयौँ । थप संक्रमण नफैलियोस् भनेर केही दिन अपरेशन थिएटर पनि शिल गर्यौँ । अहिले केही पनि जोखिम छैन, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले अस्पपतालका सबै डाक्टर र कर्मचारीको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले अस्पतालमा पूर्ण सतर्कता अपनाइएकाले विरामीहरु ढुक्क भएर सेवा लिन आउँदा हुने बताउनु भयो । उक्त कोरोना संक्रमितको जिउधन रक्षा गर्न अस्पतालले पिसीआर रिपोर्ट विना अप्रेसन गर्दा त्यस्तो भएको जनाएको छ ।
कोरोनाको त्रासले उक्त विरामीमाथि अप्रेसन हुँदैन्थ्यो भने उनको ज्यान जाने थियो, अस्पतालका अध्यक्ष जोशीले भन्नुभयो, ‘हामीले गल्ती गरेको नभएर एक कर्तव्य पुरा गरेको महसुस भएको छ । पिसीआर रिपोर्ट अनिवार्य गरिएको भए उक्त विरामीको अवस्था जे पनि हुने कन्डिसन थियो ।’
विशेषज्ञ सेवा प्रदान गर्नेगरी १६ करोडको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा पाइन्छ । अस्पतालबाट इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा इमरजेन्सी प्रदान भइरहेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया