१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बागलुङ पहिरो अपडेटः मृतकको संख्या १३ पुग्यो



बागलुङ ।

ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ।

बेपत्ता हुनेहरुको संख्या समेत थपिएको छ। ‘परिवारहरूका अनुसार अझै २७ जना बेपत्ता भएको जानकारी आएको छ,’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘यो संख्या अझै बढ्न सक्छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पनि हराउनेको संख्या ३० देखि ४० जनासम्म हुनसक्ने बताए।

तटीय क्षेत्रमा पहिरोसहित भूजी खोलामा आएको बाढी पस्दा उनीहरु बेपत्ता भएका हुन्। घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको रेग्मीले जानकारी दिए। बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको उनले बताए।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ। घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ।

अविरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए

प्रकाशित मिति : १८ भदौ २०७७ बिहिबार ००:००  १२ : ५२ बजे